काठमाडौँ, जेठ २० गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसद्मा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको हो ।
मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले कुनै पनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले (प्रतिपक्षी दलहरू) प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ । यी सबै कुरा दोस्रो भयो । सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । त्यो हक पनि हो । यो संसदीय अभ्यास पनि हो । हाम्रो प्रचलन पनि हो । हामीले प्रतिपक्षीलाई गृहमन्त्रीलाई संसद्मा जवाफ दिने वातावरण बनाउन निरन्तर आग्रह पनि गरेका छौँ ।’
उहाँ मन्त्रीमाथि प्रश्न उठेपछि संसद्मा जवाफ दिन नदिएर गलत नजिर बसाउन नहुने बताउनु भयो ।