काठमाडौँ, जेठ २० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा सरकार, निजी क्षेत्र र विश्वविद्यालय मिलेर काम गर्ने अवधारणालाई जोड दिइएको बताउनुभएको छ ।
नेकपा (एमाले) को केन्द्रीय विज्ञान प्रविधि विभागले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलवार आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले विश्वविद्यालयका अध्ययन, अनुसन्धान व्यवहारिक रूपमा जति प्रभावकारी हुनुपर्ने हो, सो हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा विश्वविद्यालयहरू नवीन खोजका क्षेत्रमा विकास गर्न सकेका छैनौँ । अध्ययन केन्द्रका रूपमा जसरी प्रभावकारी बनाउनुपर्ने हो, हाम्रा अध्ययनहरू एक प्रकारले भन्ने हो भने व्यवहारिक जीवनमा प्रयोग नै भएको छैन । कहिलेकाहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भयो भनेर गर्व गर्ने विषय त बनेको छ । तर, हाम्रो देशले के पायो भन्दा खेरी हाम्रा अनुसन्धानहरू वास्तवमा उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरूसँग जोडेर हाम्रा अध्ययन अनुसन्धानले सार्थक परिणामहरू दिएका छैनन् ।”
उहाँले अहिलेको बजेटले विश्वविद्यालयका अध्ययन, अनुसन्धान कार्यान्वयनमा जोड दिन खोजेको भनाइ पनि राख्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको बजेटले त्यसतर्फ जोड दिन खोजेको छ । त्यस अर्थमा, पोलिसीमेकरले अगाडि सारेका सोचलाई लागू गर्ने क्षेत्रको रूपमा हेर्दा खेरी मन्त्री आफैँ गएर इनोभेसन सेन्टरमा काम गर्ने त होइन । उनीहरूले त नीति ल्याइदिने हो । नीति, कार्यक्रम कार्यान्वयन कसले गर्छ भन्दा खेरी हाम्रा प्रशासनिक संरचना र हाम्रा युनिभर्सिटीले नै गर्ने होला । वा प्राइभेट सेक्टरले गर्ने होला । छलफल गरिएका विषय कार्यान्वयनलाई गर्ने राज्यको प्रशासन क्षेत्र हो । महासचिव पोखरेलले सूचना, प्रविधि र विज्ञानको क्षेत्र सरल र सस्तो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “यस पटक हामीले सूचना, प्रविधिको उद्योगको सन्दर्भका बारेमा एक प्रकारले हामीले नीतिमा काम गर्न खोजेका छौँ । सूचना, प्रविधिको क्षेत्रलाई कानुन नै बनाएर विदेशमा रहेका नेपाली नागरिकले लगानी गर्न पाउने एउटा मात्र पहिलो क्षेत्र बनायौँ । अर्कोतर्फ बाहिरबाट काम प्राप्त गर्ने, एक प्रकारले अनलाइन सेवा प्रदान गर्न प्रोत्साहन गरेको छ । सूचना, प्रविधिमा लाग्दै आएको करमा पनि उल्लेख्य मात्रामा छुट दिइएको छ ।”
उहाँले अर्धदक्ष प्राविधिक जनशक्तितर्फ समाजको ध्यान पुग्न नसकेको भन्नुहुँदै भारतबाट नेपालमा काम गर्न आउने प्राविधिक जनशक्तिले विप्रेषण लगिरहेको भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “अर्धदक्ष प्राविधिक जनशक्तितर्फ समाजको ध्यान कम गयो । नेपालमा श्रम गर्न भारतबाट ठुलो सङ्ख्यामा काम गरेर विप्रेषण लिएर जान्छन् । सर्टिफिकेट दियौँ, सीप दिन सकेनौँ । पढाइसँग सीप जोड्न सकेका छैनौँ । शिक्षालाई रोजगारीसँग जोड्न सकेका छैनौँ ।”
प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीले आगामी बजेटले वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको विषयलाई नीति निर्माणमा अघि बढाउन जोड दिएको बताउनुभयो । विकासको जिम्मेवारी सङ्घीय सरकारको मात्र हो भन्ने बुझाइ रहेकोले यस विषयमा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा विभागका अध्यक्ष टङ्क कार्की, रमेश पौडेल लगायतले मन्तव्य राख्नुभयो ।