काठमाडौँ, जेठ २० गते । ११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले अग्रता लिनुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मङ्गलबार देखि सुरु भएको प्रतियोगितामा सद्भावले ६अन्डर ६६ खेल्नुभयो । दोस्रो स्थानमा रहन सफल नेपालकै वाङ्गचेन ढोन्डुपको चार अन्डर ६८ स्कोर छ ।
यस्तै नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बङ्गलादेशका मोहम्मद साहाब उद्दीन दुई अन्डर ७० स्कोरसहित संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ र
यस्तै महिलातर्फ भारतकी अनन्थी विवेक एक अन्डर ७१ स्कोरसहित शीर्षस्थानमा हुनुहुन्छ । उहाँले नेपालकी तारा कार्की चित्रकारलाई नौ स्ट्रोकको पछि पार्नुभएको छ ।
पहिलो दिन ताराले आठ ओभर ८० खेल्नुभयो । यु–१६ तर्फ रूबेन थापा ८० स्कोर सहित शीर्षस्थानमा हुनुहुन्छ । ९० स्कोर बनाएका दीप्सन लामा दोस्रो स्थानमा हुनुहुन्छ ।
पुरूषको टिम स्पर्धामा नेपाल ‘ए’ का सद्भाव आचार्य र राहुल विश्वकर्मा एक सय ३६ स्कोरका साथ पहिलो स्थानमा रहनुभएको छ । नेपाल ‘बी’ का टासी छिरिङ र वाङ्गचेन ढोन्डुप एक सय ४२ स्कोरसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
तीन दिने ५४ होलको प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका गरी ५७ खेलाडीको सहभागीता रहेको छ ।