नौरते नेपाली
सिँजा (जुम्ला), जेठ २० गते । जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिने भएको छ । लुकीछिपी हुने रसायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्राङ्गारिक मल वितरण गर्ने भएको हो ।
जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । त्यसयता जुम्लामा कुनै पनि बाहनामा वा लुकीछिपी रासायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिबन्ध छ तर लुकिछपी प्रयोग हुने गरेको पाइएको छ ।
अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जूम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबै कागजात पुरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृर्षक समुह तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गरिने छ ।
अनुदानमा मल लिनका लागि प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको छ । निर्धारित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिइने छ । कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।
लुकिछिपी विषादी प्रयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रयास समेत भइरहेकाे छ । जुम्लामा ३ रय ९६ बोरा जैविक मल आइपुगेको छ । किसानलाई ५० किलोदेखि ५ क्विन्टलसम्म मल दिने योजना छ । किसानको माग र आवश्यकता मध्यनजर गरेर वितरण गरिने छ भने प्रतिबोरा २५ सय रुपियाँ मूल्य परेपनि किसानले १२ सय ५० मै पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यहोरि दिने भएको छ । जैविक प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपियाँ विनियोजन भएको छ ।