अविनाश चौधरी
धनगढी, जेठ २० गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी आइपुग्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आजबाट आयोजना गरिरहेको पूर्व लगानी तथा विकास सम्मेलनमा सहभागी हुन उहाँ धनगढी आइपुग्नुभएको हो ।
मन्त्री राणालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी विमानस्थलमा स्वागत गर्नुभयो । प्रदेश सरकारले आगामी असोजमा आयोजना गर्ने लगानी सम्मेलनको पूर्व तयारीस्वरूप जेठ २० र २१ गते दुई दिन लगानी तथा विकास सम्मेलन गर्दैछ । पूर्व सम्मेलनलाई मन्त्री राणाले सम्बोधन गर्नुहुने छ ।
प्रदेशको आर्थिक विकासको सम्भावनालाई उजागर गरेर रूपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारले प्रथम लगानी तथा विकास सम्मेलन आयोजना गर्न गइरहेको छ । सम्मेलनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित बहुपक्षीय, दुई पक्षीय विकास साझेदार संस्था, छिमेकी राष्ट्र, व्यावसायिक प्रतिष्ठान, स्वदेशी तथा विदेशी लगानीकर्ता, बैँक तथा वित्तीय संस्था, गैर आवासीय नेपाली लगायतको सहभागिता रहने छ ।