• २२ जेठ २०८२, बिहिबार

कृषि विश्वविद्यालयमा ‘बायोसेफ्टी लेभल टु प्लस’ प्रयोगशाला

blog

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठ बायोसेफ्टी ‘लेभल टु प्लस’ प्रयोगशालाको उद्घाटन गर्नुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, जेठ २० गते ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय परिसर, रामपुर, चितवनमा ‘बायोसेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण गरिएको गरिएको छ । प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले  उद्घाटन गर्नुभएको छ ।

प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको प्रयोगशाला मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियालाई हस्तान्तरण गर्नुभयो । प्रयोगशाला भवन समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशका छ लाख किसानसहित देश भरिका किसानले यसबाट लाभ लिनसक्ने बताउनुभयो  । प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्न समेत प्रदेश सरकारले सहकार्य गर्ने उहाँले बताउनुभयो ।  

कार्यक्रममा बागमती प्रदेश सरकारका वन मन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधि तयार गर्न प्रयोगशाला उपयोग हुने बताउनुभयो । प्रविधिको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवाललले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रयोगशाला पशुपन्क्षी एवम् खेतीबालीमा देखिने रोग, किराको सुक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्थासहित निर्माण गरिएको छ । ढुसी, ब्याक्टेरिया, भाइरसको सुक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले बताउनुभयो ।

प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको छ । उहाले भन्नुभयो, ‘‘नयाँ प्रयोगशाला भवन पूर्ण रुपमा बायोसेक्युरीटीसहित बनेको छ । अहिले विश्वविद्यालयमा रहेकै मेशिनको प्रयोगबाट अगाडि बढ्नेछौं ।’’ प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेशिनहरु खरिदका लागि पाँच करोड रुपियाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने कार्य भइरहेको उपकुलपति प्रा.डा. थपलियाले बताउनुभयो ।  

समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पुष्करबहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डीन प्रा.डा. भूमिनन्द देवकोटा लगायतले मन्तव्य राख्नुभयो ।