बागलुङ समाचारदाता
बागलुङ, जेठ २० गते । ढकमक्क फुलेको गुलमोहर फूलले बागलुङ नगरपालिका–१, बाङेचौरस्थित सहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्कपरिसर गुल्जार बनेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि सहिद स्मृति पार्कपरिसरमा फुलेको गुलमोहरले पार्कमा थप आर्कषण थपेको हो । निरन्तरको वर्षासँगै फुलेको गुलमोहरले गुल्जार बनेको पार्कमा सेल्फी लिने र फोटो खिच्नेको ताँती लाग्न थालेको छ । एसियाकै लामो झोलुङ्गे पुल ‘कालीगण्डकी गोल्डेन ब्रिज’ यही पार्क क्षेत्रमै पर्छ । सिङ्गल स्पानको झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ ।
बिहानदेखि साँझसम्म पर्यटक पुल हुँदै भगवान् पार्वतीको जन्मभूमिका रूपले परिचित पर्वतको पाङस्थित अदुवाबारी घुमेर फर्किन्छन् । कोही सफा र शान्त पार्कमा सुस्ताउँछन् । कोही ध्यान र योगामा तल्लीन देखिन्छन् । सहरी कोलाहलबाट मुक्त हुन साँझको प्रहरमा युवादेखि ज्येष्ठ नागरिक पार्कमा रहेका वरपिपल र शमीको छहारीमा टहलिन्छन् ।
गुलमोहर वर्षासंगै खुलेको आकाशमा मुस्कुराइरहेको भान हुन्छ । वसन्त ऋतुको आगमनसँगै ढकमक्क फुलेको गुलमोहरले पार्कको सुन्दरता बढाएको स्थानीय सामाजिक अगुवा सूर्य लामिछाने बताउनुहुन्छ । प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरदेखि बाङेचौर खेलमैदानसम्मको राष्ट्रिय राजमार्गमा गुलमोहरले सुन्दरता थपेको छ ।
सहिद स्मृति पार्कमा रोपिएका गुलमोहरका रुख जोगाउनुपर्ने लामिछाने बताउनुहुन्छ । बागलुङ–पोखरा सडक स्तरोन्नति र बिजुलीको पोलका कारण रुखका हाँगा बर्सेनि कलमी गर्दा नासिने खतरा बढेको उहाँको भनाइ छ । लामिछानेले भन्नुभयो, “पार्कमा सरसफाइ, फूल र रैथाने प्रजातिका रूख संरक्षणका लागि मालीको व्यवस्था गर्नु पर्छ । सहरी कोलाहलबाट मुक्ति दिने पार्कलाई अझै व्यवस्थित बनाउन सके आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने सम्भावना छ ।”
विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा आयुर्वेदिक अस्पतालले पार्कपरिसरमा निर्माण गरेको खुला व्यायामशालाका उपकरण संरक्षण नहुँदा जीर्ण बनेका छन् । पार्कलाई थप आकर्षित र व्यवस्थित बनाउन सके थुप्रै लाभ लिन सकिने हुँदा स्थानीय सरकारले चासो दिनुपर्ने पूर्वजनप्रतिनिधिसमेत रहेका लामिछानेको भनाइ छ ।