• २२ जेठ २०८२, बिहिबार

प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर आउनुहुने

blog

प्रधानमन्त्री केपी शर्मा ओली

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, जेठ २० गते ।
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर आउनुहुने भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा आयोजित कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली हेलीकोप्टरमार्फत आधार शिविर आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर आउन लाग्नुभएको हो ।


चार हजार एक सय ९० मिटरको उचाईमा रहेको आधार शिविरमा प्रधानमन्त्री ओलीलाई गाउँपालिका अध्यक्ष भारतकुमार पुन, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङ, माथिएस हर्जोग र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्नुहुने छ ।

प्रधानमन्त्री ओलीले आधार शिविरमा अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण र खुला सङ्ग्रहालयको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अन्नपूर्णको आरोहण क्षेत्रमा पहिलो पटक अन्नपूर्ण दिवस मनाउन पाउँदा हामी खुसी भएका छौं । हामीलाई साथ दिन प्रधानमन्त्री आउँदै हुनुहुन्छ ।’’

आधार शिविरमा करिब २० देखि ३० मिनेटको कार्यक्रमपछि प्रधानमन्त्री ओली सहितको टोली नारच्याङको बेंसी गाउँमा आयोजित अन्नपूर्ण हीरक महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको अन्नपूर्ण हीरक महोत्सव मुल आयोजिक समितिका सदस्य सुवास विकले जानकारी दिनुभयो ।


प्रधानमन्त्री ओली आउने भएपछि आधार शिविरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तीन दिन अघि नै पुगिसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

आजभन्दा ७५ वर्ष अघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखको दिन सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान गण्डकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि हीरक महोत्सव सुरु भएको छ । ओझेलमा परेको यस क्षेत्रमा यसपटक अन्नपूर्ण हीरक महोत्सवले यस क्षेत्रका पर्यटनकर्मी र स्थानीयवासीहरुलाई उत्साहित बनाएको छ ।