गोरखापत्र समाचारदाता
ललितपुर, जेठ १९ गते । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २२ गते बिहीबारदेखि लागु हुने गरी कांग्रेस केन्द्रीय कार्यालय, सङ्घीय र प्रदेशका संसदीय दलको कार्यालय र प्रदेश कार्यालय प्लास्टिकरहित बनाउने घोषणा गर्नुभएको हो ।
उहाँले विश्व वातावरण दिवसकै सन्दर्भ पारेर जिल्ला कार्यालय, प्रतिनिधि सभा क्षेत्रीय कार्यालय, प्रदेश सभा क्षेत्रीय कार्यालय, पार्टीको स्थानीय तहका कार्यालय, पार्टीका सबै वडा कार्यालय, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालय प्लास्टिकरहित क्षेत्र बनाउने बताउनुभयो । उहाँले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीति रहेको प्रस्ट पार्नुभयो । कांग्रेसले प्लास्टिकरहित बनाउने अभियान आइतबारै आरम्भ गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खानेपानी राख्न प्लास्टिकका बोतल हटाएर सिसाका बोतल राखिएका छन् । साथै प्लास्टिकका कप र अन्य सामग्रीका सट्टा कागजका कप र सिसाका सामग्री राखिएका छन् ।
कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सानेपामा आइतबार आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाका झोला र स्थानीयस्तरमा उपलब्ध अन्य वैकल्पिक साधनको प्रयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहजताका नाममा प्लास्टिकको प्रयोगले वातावरणमा पारिरहेको नकारात्मक प्रभावबाट अब माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु ।”
जलवायु परिवर्तन गम्भीर रहेको तर्क गर्दै सभापति देउवाले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुनु स्वयम्मा गहिरिँदो जलवायु सङ्कटको चेतावनीका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक छ । केही राष्ट्रहरूले उत्सर्जन बढाइरहँदा, हामी जस्ता जलवायु परिवर्तनका दृष्टिकोणले संवेदनशील राष्ट्रहरूले त्यसको असर भोगिरहनु अन्यायपूर्ण र दुःखद अवस्था हो ।” नेपालले जलवायु न्यायका लागि विश्व समुदाय समक्ष आफ्नो स्पष्ट धारणा दृढताका साथ निरन्तर राखिरहनुपर्ने सभापति देउवाले बताउनुभयो । उहाँले स्रोत र क्षमताको सीमितताबिच पनि नेपालले वातावरण तथा जलवायु परिवर्तनको समस्यासँग जुध्न सधैँ अग्रसरता देखाउँदै आएको प्रस्ट पार्नुभयो । नेपालले जलवायुका जोखिमसँग जुध्न अनुकूलनका प्रयास र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका क्षेत्रमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै नीति र योजनाहरूको कार्यान्वयनका लागि वित्तीय स्रोत र विज्ञान तथा प्रविधिमा पहुँच अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यही आवश्यकता लिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायसङ्गत र समानुपातिक वित्तीय व्यवस्थाको माग गर्दै आएको छ ।”
सभापति देउवाले मनसुन सुरु हुन लागेको र यस पटक बढी वर्षा हुने र तापक्रम पनि बढ्ने प्रक्षेपण भएको सन्दर्भमा बाढी, पहिरो र डुबानका साथै सङ्क्रामक रोगबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वसतर्कता र तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत् प्रयोग बढाउनुपर्ने बताउनुभयो । “यसले वातावरण सुधार मात्र होइन, व्यापार घाटा कम गरी अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ,” उहाँको भनाइ छ ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्य प्रतिमा गौतम, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ, प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहितका नेताहरूले जलवायु परिवर्तनबाट प्रतिकूल असर परिरहेको बताउनुभयो । उहाँहरूले कार्बन उत्सर्जन नगर्दा पनि अत्यधिक असर भोगिरहेको नेपालको हिमाली क्षेत्र संरक्षण गर्नुपर्ने बताउनुभयो ।