प्रेम अधिकारी
पशुपतिनगर(इलाम) जेठ १८ गते । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा ‘फाटकमा घाम’कविता सङ्ग्रहको विमोचन गरीएको छ । सूर्योदय २ पशुपतिनगर निवासी साहित्यकार कविता राई ‘गाउँले’को पहिलो कविता सङ्ग्रह ‘फाटकमा घाम’ को विमोचन गरिएको हो ।
सूर्योदय गजल मञ्चको आयोजना तथा पाथीभरा मिडिया प्रा.लि.को सह–आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि भारतका साहित्यकार कवि मनप्रसाद सुब्बाले उक्त कृतिको विमोचन गर्नुभयो । उहाँले कृति विमोचन गर्दै साहित्यकार गाउँलेका प्रत्येक कवितामा जनजिविकाका सवाल जोडिएको बताउनुभयो । उहाँले नेपाल–भारत बिच साहित्यको गहिरो सम्बन्ध रहेको बताउनुभयो । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको उक्त सग्रहमा ४९ वटा कविता समेटिएका छन् ।
कार्यक्रममा कृतिकार गाउँलेले आफैंले देखे भोगेका कुरालाई कवितामा उतारेको जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘समाजका विभिन्न पक्षलाई समेटेर सङ्ग्रहको रूपमा प्रकाशन गरेको हुँ, पाठकले मनपराइदिनु हुन्छ भन्नेमा विश्वस्त छु ।’
उक्त सङ्ग्रहमाथि इलामका कवि हाङयुग अज्ञात, सिक्किमका कवि प्रविन खालिङ र प्राज्ञ ससी लुमुम्बुले समीक्षा गर्नुभएको थियो । कवि हाङयुग अज्ञातले उक्त सङ्ग्रहमा समेटिएका कविताले नेपाल–भारत सीमा क्षेत्रको यर्थाथलाई चित्रण गरेको बताउनुभयो ।
विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतष्ठानका भाषा विभाग संयोजक प्राज्ञ राजन मुकारुङ, प्राज्ञ सुमित्रा चेली वाङदेल, साहित्यकार कृष्ण बराल, सूर्योदय नगरपालिका सामाजिक विकास समितका संयोजक डिक बम्जन, पत्रकार केदार शर्मा लगायतले सङ्ग्रहको चर्चा गर्नुभयो । गाउँलेले पशुपतिनगरमा बसेर २०४८ सालदेखि साहित्य सिर्जना गर्दै आउनुभएको छ ।