• १९ जेठ २०८२, सोमबार

गलकोटमा तीन सय वर्ष पुरानो हनुमान नाँच

blog

ऐतिहासिक तथा साँस्कृतिक महत्त्व बोकेको हनुमान नाँच गलकोट नगरपालिकामा पहिलो पटक भव्य रूपमा प्रदर्शन गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), जेठ १८ गते ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको हनुमान नाँच गलकोट नगरपालिका– ३ हतिया बजारमा पहिलो पटक भव्य रूपमा प्रदर्शन गरिएको छ । नेवा खल गलकोटको आयोजनामा शनिबार गलकोटमासो नाँचको प्रर्दशन गरिएको  थियो ।

हनुमान नाच अवलोकनपछि बोल्नुहुँदै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले हनुमान नाच वा नृत्य मात्र नभई, ऐतिहासिक, धार्मिक र साँस्कृतिक जीवनशैलीको एक अभिन्न हिस्सा भएको बताउनुभयो थियोे ।

उहाँले यस नाँचले हाम्रो परम्परागत मूल्य, आस्था र सामाजिक एकतालाई दर्साउने बताउँदै यसले धर्म र संस्कृतिप्रतिको सम्मान बढाउने र नयाँ पुस्तामा मौलिक पहिचानको बोध गराउने बताउनुभयो ।

गैरेले हनुमान नाँचलाई संरक्षण गर्न निरन्तर लागिरहेका कलाकार, गुरु सबै समर्पित व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस नाँच तथा मौलिक परम्परा संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

हनुमान नाँच संरक्षण समिति बागलुङका प्रधान काजी ईश्वर श्रेष्ठले हनुमान नाँचको बारेमा जानकारी गराउनुहुँदै नेवा खल गलकोटमा करिब तीन सय वर्ष पुरानो साँस्कृतिक सम्पदा भएको र यसलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गलकोटमा पहिलो पटक प्रदर्शन गरिएको जानकारी गराउनुभएको थियोे ।

लोपउन्मुख अवस्थामा रहेको हनुमान नाँचले हिजोआजको पुस्तालाई आफ्नो साँस्कृतिक सम्पदा सम्झाउने काम गर्ने र युवापुस्तामा परम्परागत संस्कृतिप्रतिको अभिरुचि बढाउने अपेक्षा गरिएको छ । श्रेष्ठका अनुसार गलकोटमा पहिलो पटक आयोजना गरिँदै गरेको यो नाँचले स्थानीय संस्कृति, पर्यटन प्रवर्धन तथा एकताको सन्देश दिन पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उक्त हनुमान नाँच अवलोकनमा स्थानीयवासी, विद्यालयका विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, संस्कृतिप्रेमी तथा विभिन्न समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।