गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रका जनशक्तिको क्षमतालाई अभिवृद्धि गर्न लगानी गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार कोर्डियोथोरासिक भास्कुलर नर्सेज समाज नेपालले आयोजना गरेको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विभिन्न विधाका जनशक्तिलाई एकअर्कोमा क्षमता अभिवृद्धि गर्न जरुरी भएको बताउनुभयो । उहाँले स्वास्थ्य जनशक्ति योग्य र थप सक्षम हुने कुरा व्यक्तिगत नभई राज्यकै विकास भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सेवामूलक कार्य भए पनि सेवा दिनेले गुजारा नै नहुने गरी सेवा दिन नसक्ने बताउनुभयो । यसका लागि थप तीन प्रदेशमा मुटु उपचारसँग सम्बन्धित मेसिन तथा उपचार यन्त्र खरिद गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले राज्य र सरोकारवालाले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नयाँ आर्थिक वर्षमा मुटु उपचार केन्द्रहरू विस्तार गर्ने योजना ल्याइएको भन्दै सातै प्रदेशमा विस्तार गरिने जानकारी गराउनुभयो । विधागत क्षमता एकअर्कामा तालिम दिएर विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
कोर्डियोथोरासिक भास्कुलुर नर्सेज समाजका अध्यक्ष जमुना ताम्राकार सायमीले नेपालमा नर्सहरूले उत्कृष्ट सेवा दिँदै आइरहेको बताउनुभयो । उहाँले मुटुरोग उपचारमा भइरहेका अभ्यास तथा वैज्ञानिक खोजबारे जानकारी आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मुटुरोग उपचारमा नर्सहरूको भूमिका बुझाउन पनि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
उहाँले समाज मुटुरोगसँग सम्बन्धित सेवामा कार्यरत तथा त्यस सेवामा अनुभव हासिल गरेका नर्सको संस्था भएको बताउनुभयो । उहाँले विभिन्न सामाजिक सेवाका साथै विशेष गरी मुटुरोगसँग सम्बन्धित उपचारमा नर्सहरूको क्षमता अभिवृद्धिमा कार्य गर्दै आइरहेको बताउनुभयो । सम्मेलनमा चार सय कार्डियाक नर्सहरूको सहभागिता छ ।