काठमाडौँ, जेठ १७ गते । १३औँ कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खडकबहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जित्नुभएको छ । दुवै पहिलो पटक च्याम्पियन बन्नुभएको हो ।
खडकबहादुरले एक घन्टा ०६ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्नुभयो । धादिङकी सन्तोषीले एक घन्टा २३ मिनेट २८ सेकेन्डमा दौड सक्नुभयो । विजेता खडकलाई निकट प्रतिद्वन्द्वी केन्याका जुलियस मुरिउकी (१ घन्टा ०६ मिनेट ५६ सेकेन्ड) ले कडा टक्कर दिनुभएको थियो ।
एपिएफका धावकक गोपीचन्द्र पार्की तेस्रो हुनुभयो । उहाँले एक घन्टा ०८ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्नुभएको थियो । यस्तै महिलामा सन्तोषीको निकट प्रतिद्वन्द्वीमा आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले एक घन्टा २५ मिनेट ५७ सेकेन्डमा दौडढ सक्दै दोस्रो हुनुभयो ।
एपीएफकी पुष्पा भण्डारी एक घन्टा २६ मिनेट ४३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही एक लाख ५० रुपियाँ पुरस्कार पाउनुभयो । दोस्रोदेखि छैटौँ हुनेलाई क्रमशः ७५, ५०, ३०, २० र १० हजार रुपियाँ पुरस्कार पाए ।
यस्तै सात किमिको कलेज रनको ब्वाइजतर्फ अजय पाण्डे (२१ मिनेट २४.२२ सेकेन्ड), अमृत विश्वकर्मा (२१ मिनेट ३१.२५ सेकेन्ड), विश्वराम कँुवर (२१ मिनेट ५६.५७ सेकेन्ड) ले क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।
गल्र्सतर्फ सुसन कार्की पहिलो, आयुष्मा आचार्य दोस्रो र मनीषा थापा तेस्रो हुनुभयो । पाँच किमि कर्पोरेट एन्ड सेलेब रनमा पुरुषतर्फ विकेश घिमिरे पहिलो, रेवत दाहाल दोस्रो र शेरबहादुर थारु तेस्रो हुनुभयो । कर्पोरेटको महिलातर्फ रेजिना दुलालपहिलो, वालिका केसी दोस्रो र कल्पना महर्जन तेस्रो हुनुभयो ।
यस्तै तीन किमि दौडमा प्रेम विक र ऐश्यर्य कुमाल विजेता बन्नुभयो । थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको हाफ म्याराथन दौड थापाथली, माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, ठिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर हुँदै थापाथलीनै आएर सकिएको थियो ।