• १७ जेठ २०८२, शनिबार

नागरिकको अनुहारमा खुसी नपुगेसम्म गणतन्त्रको उद्देश्य पूरा हुँदैनः मुख्यमन्त्री

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ गणतन्त्र दिवस मूल समारोह समितिले हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै । तस्विरः राममणि दाहाल

राममणि दाहाल
मकवानपर, जेठ १५ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नागरिकको अनुहारमा खुसी नपुगेसम्म लोकतान्त्रिक गणतन्त्रले लिएका उद्देश्यहरु पूरा नहुने बताउनुभएको छ ।

उहाँले बिहीबार गणतन्त्रले खोजेको सबैभन्दा ठुलो विषय जनताको जीवनस्तर माथि उठाउने हो भन्दै त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवम् सुशासन भएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समिति, बागमती प्रदेशले प्रदेशस्तरमा हेटौँडामा बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्नुुहुँदै उहाँले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा नहुने बताउनुभएको हो ।

उहाँले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल आत्मा भनेको सङ्घीयता र समावेशी शासन व्यवस्था भएको भन्दै सङ्घीयताको पूर्ण कार्यान्वयन मार्फत शासकीय सत्ता आम नागरिकको तहमा पुर्‍याउन अझै थप कार्यहरु गर्न बाँकी रहेको बताउनुभयो ।

आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ मुख्यमन्त्री लामाले भन्नुभयो, म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ । किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौं ।

उहाँले गणतन्त्र दिवसले संघीयताको मूल मर्म अनुसार तहगत सरकारको अधिकार र जिम्मेवारी व्यवस्थित गर्दै आम नागरिकलाई अधिकार सम्पन्न बनाउन सम्बद्ध सबैमा हौसला मिल्ने भन्दै समावेशी शासन व्यवस्थामार्फत राज्यको शासकीय संरचनामा पिँधमा परेका वर्ग, लिंग र समुदायको समान पहुँच स्थापित गर्न पनि धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले सङ्घीयता र समावेशीताको सफल कार्यान्वयन मार्फत अधिकार सम्पन्न नागरिक र आर्थिक समृद्ध प्रदेश निर्माणका लागि बागमती प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो ।