ज्योति पन्थी
बबई (बर्दिया), जेठ १४ गते । सोमबार रातिदेखि आएको वर्षातका कारण मधुवन नगरपालिका–१ र २ जोड्ने औरही खोलामा बनाएको 'कज वे' बाढीले बगाएको छ ।
मधुवन नगरपालिका १ र २ जोड्ने पत्थर भोजीमा ८ लाख लगानीमा निर्माण गरिएको 'कज वे' बाढीले बगाएको हो । 'कज वे' निर्माणका लागि नगरपालिकाले करिब १८ वटा ह्युमपाइपको प्रयोग गरेको थियो ।
रातिदेखि त्यस क्षेत्रमा वर्षा भइरहँदा औरही खोलामा आएको बाढीले कज वे नै बगाएको स्थानीय बासिन्दा हरि गुरुङले बताउनुभयो । नगरपालिकाले कज वेका लागि प्रयोग गरेको ह्युमपाइप नदीले एक सय मिटर परसम्म पुर्याएकाे छ ।
नगरपालिकाले बनाएको 'कज वे' खोलाले बगाएको भन्ने जानकारी आएको र त्यसको विपद् व्यवस्थापन शाखाबाट अनुगमन भएको मधुवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिम पोख्रेलले बताउनुभयो । 'कज वे' बगाउँदा समेत मधुवन नगरपालिका बेखबर जस्तो देखिएको छ । मधुवन नगरपालिका १ मा निर्माण गरिएको टाइगर भिल्ला होटेलमा सवारी साधन आवतजावत गर्न सजिलो होस् भन्ने उद्देश्यले औरही खोलामा भिल्ला लक्षित गरेर कज वे निर्माण गरिएको स्थानीयले यसअघि पनि आरोप लगाउँदै आएका थिए ।