काठमाडौँ, जेठ १४ गते । गणतन्त्र दिवसको अवसर पारेर हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी गरेको छ । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे आउँदो पुस्तालाई जानकारी दिन पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
हुलाक टिकट प्रदर्शन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक टिकटको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वबारे चर्चा गर्नुभयो ।
उहाँले हुलाक टिकटले नेपालको इतिहासलाई जीवन्त राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्ताका लागि नेपालमा धार्मिक एवम् सांस्कृतिक इतिहास अध्ययन गर्ने पाठशालाको रूपमा रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘टिकट आफैँमा नेपालभित्र र नेपालबाहिर रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्र र विकासको क्षेत्रमा योगदान दिने व्यक्ति र सम्पदाहरू छानेर टिकट प्रकाशन गर्ने गरिन्छ । यो टिकटले इतिहासलाई कायम राख्छ र जीवन्त राख्न मद्दत गर्छ । पछिल्लो पुस्तालाई इतिहासको अध्ययन गर्ने प्रयोगशाला पनि हो टिकट । यसले नेपालको पहिचान विश्व समुदायसमक्ष दिन्छ ।’’ हुलाक टिकट नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यम बनेको पनि सचिव अर्यालको भनाइ छ ।