बुटवल समाचारदाता
बुटवल, जेठ १४ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजना घोषणा गरेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधा थपिँदै गएका छन् । अस्पतालपरिसरमै रक्त सङ्कलन केन्द्रमार्फत बिरामीले सहज रूपमा सेवा पाउने भएका हुन् । रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिने भएको हो । त्यसका लागि रुपन्देही व्यापार सङ्घ र लुम्बिनी प्रादेशिक अस्पतालबिच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालको तर्फबाट अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय अधिकृत राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गर्नुभएको छ । व्यापार सङ्घका तर्फबाट अध्यक्ष दीपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्शुराम पन्त र कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालभित्रै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि बिरामीलाई सेवा लिन सहज हुने बताउनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालले अस्पतालभित्रै रक्त सङ्कलन केन्द्र स्थापनाका लागि पहल गर्दै आएको थियो । अध्यक्ष श्रेष्ठले अस्पतालमा सेवा स्थापनाभन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै यसको निरन्तरताका लागि व्यापार सङ्घले दीर्घकालीन योजना तयार पार्न आग्रह गर्नुभयो ।
रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपक अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीले छिटोछरितो सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले रक्त सङ्कलन केन्द्र स्थापनाका लागि अस्पतालसँग सहकार्य गरेको बताउनुभयो ।