घोराही समाचारदाता
घोराही, जेठ १४ गते । दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल गेटमा विगत पाँच महिनादेखि ताला लगाइएको छ । तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिकसँगै शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । बेलझुन्डीस्थित विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र बिपी संस्कृत विद्यापीठ सोलुखुम्बुमा छात्रावास निर्माण गर्नुपर्नेलगायतका छबुँदे माग राख्दै माओवादीनिकट अखिल क्रान्तिकारीले २०८१ पुस १२ गते केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएको थियो ।
विश्वविद्यालयको मूल गेटमा ताला लगाएको दुई महिनापछि फागुनमा अखिल क्रान्तिकारीले नै अनुसन्धान केन्द्रको कार्यालयमा ताला लगाएको हो । तालाबन्दीका कारण विश्वविद्यालयका कर्मचारीले कार्यालयबाहिरै हाजिरी गर्ने गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले विश्वविद्यालयको मूल गेट र अनुसन्धान केन्द्रमा लगाएको ताला खुलाउने विषयमा पटक पटक वार्ता भए पनि सहमति हुन नसक्दा ताला खुल्न नसकेको बताउनुभयो ।
विश्वविद्यालयमा लगाएको ताला खोल्नका लागि तालाबन्दी गर्ने, विद्यार्थी सङ्गठनका नेतासँग पटक पटक वार्ता भएको र विद्यार्थीका माग सम्बोधन गर्नका लागि विश्वविद्यालय तयार हुँदासमेत ताला खुल्न नसकेको रजिस्ट्रार अधिकारीले बताउनुभयो । अखिल क्रान्तिकारीले भने माग सम्बोधन भएपछि मात्र ताला खोल्ने बताउँदै आएको छ । सो सङ्गठनका सचिव अभयप्रताप चौवेले आफ्ना माग सम्बोधन नभई ताला नखुल्ने बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयमा भइरहेको आर्थिक चलखेल रोक्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा ओपिडी तथा आइपिडीसहितको अस्पताल स्थापना हुनुपर्ने, केन्द्रीय आयुर्वेद दाङ र बिपी विद्यापीठ सोलुखुम्बुमा छात्रावास हुनुपर्ने, मिथिला आयुर्वेद मेडिकल कलेजबाट स्थानान्तरण गरी केन्द्रीय विद्यापीठमा ल्याइएका विद्यार्थीको आन्तरिक शुल्क फिर्ता गर्नुपर्ने र केन्द्रीय विद्यापीठमा भएको पदीय दुरुपयोगको छानबिन हुनुपर्नेलगायतका माग सम्बोधन भएपछि मात्र ताला खोल्ने अडान राखिएको छ ।
यसअघि पनि केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा शिक्षा आयोगको न्यूनतम मापदण्ड अनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, सर्भे गरी आवश्यक जनशक्ति नियुक्त गर्नुपर्ने, छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नको भत्ता तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै २०८१ साल असार २ गतेदेखि असोज १२ गतेसम्म नेपाल विद्यार्थी सङ्घ र अखिल (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद विद्यापीठले संयुक्त रूपमा विश्वविद्यालयको केन्द्रीय कार्यालय र डिनको कार्यकक्षमा ताला लगाएका थिए ।
विद्यार्थी सङ्गठन र विश्वविद्यालयका बिचमा सहमति भएपछि दुई महिनामा खुलेको विश्वविद्यालयमा पुनः अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै पुस १२ गते तालाबन्दी गरेपछि अझैसम्म खुल्न सकेको छैन । ताला खोल्नका लागि विद्यार्थी सङ्गठनसँग छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ ।