• ३१ जेठ २०८२, शनिबार

अलपत्र विहार सञ्चालन गर्न सिफारिस

blog

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई प्रतिवेदन बुझाउँदै अध्ययन टोली । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा समाचारदाता

खजुरा, जेठ १४ गते । नेपालगन्जस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको हर्षकृति बौद्ध विहारलाई आधिकारिक रूपमा दर्ता गरी सञ्चालन गर्न अध्ययन टोलीले सिफारिस गरेको छ । वर्सौंदेखि सञ्चालनमा आएको उक्त विहार कानुन अनुसार कहीँ कतै पनि दर्ता नदेखिएको हुँदा आधिकारिक रूपमा दर्ता गरी सञ्चालन गर्न अध्ययन टोलीले सिफारिस गरेको हो ।

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरको छेउमा रहेको बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हर्षकृति बौद्ध विहार बेवारिसे अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको उक्त बौद्ध विहारको सञ्चालन तथा आयव्ययका विषयमा विवाद उत्पन्न भएपछि अधिवक्ता चित्रबहादुर शाहीको संयोजकत्वमा बौद्ध विहारको सम्पत्ति संरक्षण र अध्ययनका लागि नेपालगन्ज उपमहानगरपालिकाले केही समयअघि सात सदस्यीय समिति गठन गरेको थियो ।

लामो समयको अध्ययनपछि समितिले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उक्त बौद्ध विहार हालसम्म आधिकारिक रूपले दर्ता नभएको, व्यक्तिद्वारा सञ्चालन भइरहेको, आयव्ययको हरहिसाब नराखिएको र दाताले दिएको जग्गाको उपयोग पनि हुन नसकेको उल्लेख छ । प्रतिवेदनका अनुसार संरक्षण र संवर्धनको अभावमा बौद्ध विहार कुरूप अवस्थामा रहेको र बाहिरबाट नदेखिने गरी पसलले ढाकेको अवस्थामा रहेको छ । विहारको ढोकैदेखि पूजा सामग्री बेच्ने पसलले ढाकेका छन् । 

२०१५ सालमा राजा महेन्द्रले भ्रमणमा आएका बेला वज्रयान बौद्ध धर्मावलम्बीले धार्मिकस्थल मागेबमोजिम वागेश्वरी मन्दिरपरिसरमा बनाउनु भन्ने आदेश दिएपछि समाजसेवी हर्षमान पतिले उक्त बौद्ध विहार निर्माण गर्नुभएको थियो । पछि २०५१ मा सोही ठाउँमा हिराकाजी शाक्यले पनि अर्को विहार निर्माण गरेको पाइएको छ तर हालसम्म पनि उक्त बौद्ध विहार सरकारको आधिकारिक रेकर्डमा छैन । बौद्ध विहारको सञ्चालन पुजारीको मातहतमा भइरहेको र दुई वटा बौद्धविहारका पक्षबिच पनि किचलो रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।  

उक्त बौद्ध विहार नेपालको कुनै गुठी, संस्था, औपचारिक व्यवस्थापन समिति, सञ्चालक समिति, राजकीय बौद्ध विहार वा चैत्य कुनै संरचनाको मातहतमा नरहेको पाइएको छ । स्थानीय तहसँग पनि उक्त बौद्ध विहारको कुनै समन्वय नरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । बौद्ध विहारका निर्माणकर्ता हर्षमान पतिले हालको जानकी गाउँपालिका–४ मा करिब १५.५ बिघा जग्गा महाविहारलाई दान दिएकोमा त्यसको आयस्ताको हिसाबकिताब पनि नराखिएको र सदुपयोग पनि हुन नसकेको पाइएको छ । हाल हर्षमान पतिका नाति विजयमान पतिले उक्त जग्गाको रेखदेख गर्ने गरेको र जग्गाबाट आएको आम्दानी विहारकै लागि खर्चेको समितिसमक्ष बयान दिएको प्रतिवेदनमा उल्लेख छ तर हरहिसाबको आधिकारिक रेकर्ड भने राखिएको छैन । 

राजा महेन्द्रले वागेश्वरी मन्दिरको करिब साढे एक बिघा जग्गा महाविहारलाई हुकुम बक्स भएकोमा अहिले उक्त जग्गामा निजी घरसमेत बनेका र हाल बौद्ध विहार करिब छ कट्ठा जग्गामा मात्रै फैलिएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।