काठमाडौँ, जेठ १३ गते । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मङ्गलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको छ ।
राखेपका सदस्य सचिव टङकलाल घिसिङले एनएसजेफको टिमसँग आफ्नो कार्यकक्षमा साक्षात्कार गर्दै नवनिर्वाचित टिमको कार्यकाल सफलताको कामनासहित बधाई दिनुभयो ।
गत वैशाखमा भएको एनएसजेफको २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
सो कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।