काठमाडौँ, जेठ १३ गते । सिरहाको तत्कालीन नवलपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाकाअनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न तयार गरेको डिपीआर बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार ७६४ रुपियाँ यकिन भएको अवस्थामा बदनियतपूर्वक स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डिपीआरलाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६ रुपियाँ बराबरको लागत अनुमान तयार गरी उपभोक्त समितिमार्फत २०७७ असार १५ गतेसम्ममा सम्पन्न गर्ने मिति २०७७ जेठ ३२ गते सम्झौता भएको थियो ।
पालिकाले पेस गरेको कामको प्राविधिक मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदनमा ३७ लाख ७९ हजार १०६ रुपियाँ बराबरको कार्य भएको भनी गलत प्राविधिक मुल्याङ्कनसहितको प्रतिवेदनका आधारमा उपभोक्ता समितिलाई श्रमदान, आयकर, बहाल कर र सामाजिक सुरक्षा कर कट्टा गरी ३४ लाख ३९ हजार १८९ रुपियाँ भुक्तानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
सो आरोपमा गाउँपालिकाका तत्कालीन गाउँप्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सव–इन्जिनियर जय नारायण यादव, लेखापाल सोमप्रसाद आचार्यविरुद्ध बिगो रकम ३४ लाख ३९ हजार १८९ रुपियाँ कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, तत्कालीन गाउँपालिका उपाध्यक्ष शोभा कुमारी, वडा नं। ४ का तत्कालीन वडाअध्यक्ष मदन यादव, वडा नं. ५ का अध्यक्ष मनोज कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि र जिन्सी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगकाअनुसार भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवविरुद्ध बिगो रकम जनही ३३ लाख ३४ हजार १८९ रुपियाँ कायम गरी बिगो रकम असुल हुन मागदाबी लिइएको अयोगले जनाएको छ ।