नारायणगढ समाचारदाता
नारायणगढ, जेठ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको न्यूनतम सेवा मापदण्ड कार्यव्रmमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल प्रथम भएको छ ।
सङ्घीय अस्पतालमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल अनुगमनमा प्रथम भएको हो । मन्त्रालयले देशभरका १५ वटा सङ्घीय अस्पतालमा सेवा अनुगमन गरेको थियो ।
मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणीन्द्र बरालले भरतपुर अस्पताल नेपालभरमै प्रथम हुनुका साथै ‘ग्रिन जोन’ स्टिकरसमेत प्राप्त गरेको जानकारी दिनुभयो । ‘ग्रिन जोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ ।
‘ग्रिन जोन’ स्टिकर पाउने भरतपुर अस्पताल मात्रै एक अस्पताल हो । मन्त्रालयका अनुगमन टिमका सदस्य डा. बरालले अस्पतालको सेवासुविधाका आधारमा यस्तो मूल्याङ्कन भएको बताउनुभयो ।
“अस्पतालको सेवा प्रवाहको तयारी अवस्थाको मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्यो,” उहाँले भन्नुभयो । अनुगमनमा अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउँदै लगेको देखिन्छ । मन्त्रालयका अनुसार २०७८ सालको अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ सालको अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
अस्पतालले दिने सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहोरमैलालगायतका वस्तुको व्यवस्थापन अन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यव्रmमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिन्छ । यो वर्ष भरतपुर अस्पतालको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा रहेको टिमले अनुगमन गरेको थियो । अनुगमनको रिपोर्ट आइतबार मात्रै सार्वजनिक गरिएको हो ।
मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट तथा अनुगमन समितिका सदस्य डा. दीपेन्द्र पाण्डेले यो अनुगमन मूल्याङ्कनका आधारमा मात्रै अस्पतालको सेवासुविधा पूर्ण रूपमा सुधारिएको भन्न नसकिने र अझै अस्पतालले आफ्नो सुविधा सुधार गर्दै लग्नुपर्ने बताउनुभयो ।
भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले सेवा सुधारिँदै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तर र सकारात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको होे । अस्पतालको सेवासुविधा सुधारका लागि हामीले काम गरिरहेका छौँ, अझै पनि धेरै गर्नु छ । कामको परिणामको नतिजा देखिएको छ,” उहाँले भन्नुभयो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवामा आफूहरू निरन्तर लागिरहेको जानकारी दिनुभयो ।