• १३ साउन २०८१, आइतबार

‘जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा’

blog

गृहमन्त्री बालकृष्ण खाण सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै ।तस्बिर : चाँदनी हमाल

गोरखापत्र समाचारदाता

कुरिनटार, जेठ २९ गते । गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन समारोहमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षाका बेला पृथ्वीराजमार्ग लगायतका मुख्य सडकमा हुने प्राकृतिक विपत् व्यवस्थापन गर्न यसक्षेत्रका सबै प्रमुख जिल्ला अधिकारीलाई आपसमा समन्वय गरेर अन्य निकायसँग सहयोग लिन पनि निर्देशन दिनुभयो । विपत् आउनुअघिको पूर्वतयारी र तत्कालका उद्धारका लागि तयार रहेर जनतामाझ विपत्का विषयमा सचेतना फैलाउन मन्त्री खाणले सबै निकायलाई आग्रह गर्नुभयो । सडक निर्माण गर्दा पहाडको भाग धेरै काटिनाले बारम्बार पहिरोको समस्या बल्झिएको भन्दै उहाँले कम क्षति हुने उपायका साथ सडक निर्माण गर्न पनि सुझाउनुभयो । 

गृहसचिव टेकनारायण पाण्डेले प्राकृतिक विपत् असामान्य अवस्था भएको बताउँदै कहिलेकाहीँ कल्पनाबाहिरको भयानक अवस्था आउनसक्ने भएकाले बर्खाका बेला बढी सचेत हुनुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जनशक्ति र स्रोत साधनको अभावकाबीच पनि जनधनको क्षति कम गर्न शिक्षालयले देशमा महìवपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । 

कतिपय अवस्थामा भीडले मात्र काम नहुने भन्दै उहाँले सशस्त्र प्रहरीको उद्धार टोलीलाई सबैखाले सामग्रीसहित हौसलाको आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढीपहिरो, डुबान, आगजनी जस्ता विपत्का समयमा सबै निकायले समन्वयमा काम गर्नुपर्ने बताउनुभयो ।