• ११ जेठ २०८२, आइतबार

‘जेठ अन्तिमसम्ममा फ्लाइओभर निर्माण पूरा हुन्छ’

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षण गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ११ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठको अन्त्यसम्ममा पूरा हुने बताउनुभएको छ ।

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको स्थलगत निरीक्षणका क्रममा उहाँले बाँकी रहेका कामहरु चाँडोभन्दा चाँडो पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

मन्त्री दाहालले प्राविधिक रुपमा समस्याहरु आउँदा निर्माण सम्पन्न हुन समय लागेपनि परिणाम सन्तोषजनक आएको बताउँदै असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

‘‘जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असार १ गतेदेखि सवारी सञ्चालन गर्ने तयारीमा छौं । मनसुन हुँदा राजमार्गहरुमा समस्या त छन् । दाउन्नेमा हामीले कटिङको काम गर्नुपर्ने अवस्थाका कारण ढिलो भएको हो । निश्चित समय गाडी रोकेरै भए पनि हामीले कटिङको काम सकेका छौं ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘ठुलै पानी पर्‍यो भने सडक सामान्य अवरोध हुनपनि सक्छ । अवरोधै हुँदैन भनेर भन्न सकिन्न । तर पनि अहिले हामीले सहज बनाइसकेका छौं ।’’

२०७८ सालदेखि निर्माण सुरु भए पनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उहाँको भनाइ थियो । निरीक्षणकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री दाहालले मनसुन सुरु भएसँगै मुख्य राजमार्गहरुमा आउने समस्या समाधानका लागि पूर्व तयारीका कामहरु भइरहेकोसमेत जानकारी दिनभुयो ।

‘‘यो २०७८ देखि ठेक्का लागेर सुरु भएको काम हो । यसको म्याद सकिएको धेरै भइसकेको छ । यसको अन्तिम म्याद भनेको गत पुस ८ गतेसम्म थियो । त्यतिखेर पनि सम्पन्न हुन सकेन । यो हाम्रो नेपालको पहिलो इपीसी मोडलबाट गरिएको काम हो । यसका प्राविधिक समस्यापनि नयाँ नै हुन् ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसकारण प्राविधिक रुपमा केही ल्याकेजहरु रहेको हुनुपर्छ र बिचमा आएका समस्या समाधानका कारण केही पर्खनु प¥यो । फेरि हामीले माथि उठीसकेको कामलाई पुनः तलैबाट सुरु गर्नुपर्ने अवस्थाका कारण ढिलो भयो । तरपनि ढिलै भए पनि परिणाम राम्रै आएको छ ।’’

मन्त्री दाहालले विपद् न्युनिकरणका लागि स्थानीयवासी र सवारी चालकलाई शतर्क गराउनेलगायत उपलब्ध स्रोत साधनलाई स्ट्याण्डवाई राखेर समस्या आएलगत्तै समाधान गर्नेगरी तयारी अवस्थामा राखेको जानकारी दिनुभयो ।

‘‘त्यसैगरी बीपी राजमार्गलाई प्राथमिकतामा राखेका छौं । बीपी राजमार्गको काम हामी आफैंले सुरु गरेको र पछि स्रोत सुनिश्चित भइसकेपछि ठेक्का प्रक्रिया अगाडि बढाएका छौं । ठेक्काको काम चलिनै रहन्छ । यदि अवरोध भएमा हटाउने कामपनि सँगसँगै हुन्छ । त्यसरी तयारी गरेका छौं ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘कान्ति लोकपथ, मेची राजमार्गलगायतका राजमार्गहरु र मुख्यरुपमा पृथ्वी राजमार्गमा पनि समस्या आउनसक्छ भनेर पूर्वतयारीका कामहरु गरिरहेका छौं । स्थानीयवासीलाई सतर्क गराउने र अर्को कुरा गाडीहरु केही समस्या आएमा सर्तक गराउने र साधन स्रोतलाई ठाउँ ठाउँमा स्ट्याण्डवाई राखेर समस्या आउनेवित्तिकै समाधान गर्नेगरी राखेका छौं । जस्तै पहिरो आयो भने पहिरो हटाउने गरि र बाढी आयो भने त्यसबाट जोगाउनेगरि कामहरु भइरहेका छन् ।’’

उहाँले विभिन्न राजमार्गहरुमा निर्माणकार्य जारी नै रहेकाले सम्बन्धित निर्माण कम्पनीलाई पूर्वतयारी अवस्थामा बस्न आग्रह गरेको बताउनुभयो ।