ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ११ गते । वरिपरि हिमालहरुको सुन्दर दृश्य । हरियाली वनपाखा, रमणीय हिमश्रृङ्लाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हो मोहरे डाँडा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे गाउँको शिरमा पर्ने मोहरे डाँडा ३ हजार तीनसय १० मिटरको उचाइमा पर्दछ ।
यहाँबाट हिमश्रृङ्खलाको दृश्यका साथै बिहानको सूर्योदय र साँझमा सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । मोहरे प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
मौसम सफा हुँदा मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छ्रे मनास्लु र अन्नपूर्ण जस्ता दर्जनौं बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ । साथै यहाँबाट पोखरा बजारसँगै फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, म्याग्दी, पर्वत, बागलुङ,कास्की,पाल्पा लगायत जिल्लाका अग्ला रमणीय टाकुराहरु देख्न सकिन्छ ।
मोहरेलाई पर्यटकीय गत्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले पदमार्ग लगायतका पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मोहरे डाँडा प्रकृतिको अनुपम उपहार हो । अन्नपूर्ण पदयात्रामा पर्ने मोहरेलाई वडा र गाउँपालिकाले प्रचारप्रसार गरी पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न खोजेका छौं ।’’ पर्यटकीय सिजनमा यहाँ आन्तरिक एवम् बाह्य पर्यटकको भीड लाग्ने उहाँले बताउनुभयो ।
मोहरे जानका लागि बेनी–जोमसोम–कोरला सडकको घुमाउने तालबाट उकालो चढेपछि धौलागिरि अन्नपूर्ण सामुदायिक पदयात्रा सुरु हुन्छ । घुमाउने तालबाट बाँसखर्क, डाँडाकटेरी, नाँगी हम्पाल हुँदै मोहरे डाँडा पुगिन्छ । ग्रामीण परिवेश रहेको यस ठाउँमा मगर संस्कृति, हिमश्रृङ्खला सूर्योदयको दृश्यावलोकन र गुराँसमय जंगल यो पदमार्गको मुख्य आकर्षण हो ।
पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीदेखि माझफाँट,लेकफाँट,सालिजा,हम्पाल,जलजला हुँदै पनि एकदिनको यात्रापछि मोहरे डाँडा पुग्न सकिन्छ । जलजलासम्म यातायातका साधनबाट र त्यहाँबाट तीनघण्टाको पैदलयात्रा पछि मोहरे डाँडा पुग्न सकिन्छ ।
पर्यटको सुविधाका लागि यहाँ ६० भन्दा बढी पर्यटक अटाउन सक्ने गरी सामुदायिक जल सञ्चालन गरिएको छ । घोडेपानी र पुनहिल भ्रमणमा पुगेका पर्यटकहरु मोहरेको भ्रमणमा जाने गरेको वडाध्यक्ष गर्बुजाले बताउनुभयो ।
गर्बुजाका अनुसार मोहरे डाँडा पुगेका पर्यटकहरु आधा घण्टाको पर्यदलयात्रा पछि पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङस्थित कोखेडाँडा पुग्न गर्दछन् । समुन्द्री सतहबाट तीनहजार तीनसय नौं मिटरको उचाईमा रहेको कोखेडाँडा पनि पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ ।