दमास्कस, जेठ ११ गते । सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताउनुभएको छ ।
बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको छ ।
उहाँले भन्नुभयो, “सिरियाली जनताको लगभग एक तिहाई जनसङ्ख्यालाई पूर्व शासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो ।”
असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध सुरु भएको थियो र पछि लाखौँ सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए । उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लङ्घनको सामना गर्नुपरेको थियो ।
धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पुर्याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको थियो ।
असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतङ्कवाद’ शब्दको प्रयोग गर्नुभएको थियो । लाखौँ सिरियालीहरूलाई जेलमा फ्याँकियो, जहाँ धेरैले यातना भोग्नुपरÞ्यो र दशौं हजार अझै हराइरहेका छन् ।
धेरै मानिसहरूले सुरक्षा जाँचचौकीहरूमा हिरासतमा राख्दा वा देश छोड्न खोज्दा मात्र आफूलाई विभिन्न आरोपमा खोजीको सूचीमा राखिएको थाह पाएका थिए किनकि, आरोपहरू प्रायः गोप्य रूपमा जारी गरिन्थ्यो ।
इस्लामी नेतृत्वको गठबन्धनले गत डिसेम्बरमा असदलाई उहाँको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै करिब १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो ।
बाबाको टिप्पणी गृह मन्त्रालयको पुनर्गठनको घोषणाको साइडलाइनमा आएको हो जसमा धेरै नयाँ विभागहरू सिर्जना गरिएको छ ।
यसमा एक उजुरी विभाग र सिरियाको भूमि र समुद्री सीमाको प्रभारी एक सीमा सुरक्षा निकाय समावेश छ जसलाई विशेष गरी लागु पदार्थ र मानव तस्करी नेटवर्कर्को ‘अवैध गतिविधि’ को सामना गर्ने काम दिइएको छ । रासस/एएफपी