निशा राई
धरान, जेठ ११ गते । नेपाली कांग्रेसले हरेक जातजाती, समुदाय, वर्ग, लिङ्ग, धर्म, संस्कार, संस्कृति र परम्परा तथा भुगोलको न्यायोचित विकास गर्न समता र समुन्नतिको सिद्धान्त अनुरुप काम गरिरहेको पूर्व बाणिज्य मन्त्री तथा नेपालि कांग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।
राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसले शुभकामना आदान–प्रदान र सहभोजको आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । दलितहरु माथि चरम जातिय शोषण र छुवाछुत हुने गरेको छ । तथापी हाल पूर्व तिर भने कम हुँदै गएता पनि पश्चिम तिर अझै पनि विकराल अवस्था रहेको उहाँले बताउनुभयो ।
दलितभित्र मात्र नभएर ब्राम्हण, क्षेत्री, खस, आर्य समुदाय भित्र पनि ठूलो सानो जातिको भावना रहेको र पकाएको खाने नखाने चलन रहेको भन्दै यस्ता सबै खाले व्यवहारको अन्त्य हुनुपर्नेमा जोड उहाँले जोड दिनुभयो । नेपाली कांग्रेसको सरकार भएकै बखत राष्ट्रिय दलित आयोग गठन गरेको र नेपाली कांग्रेसकै नेतृत्वमा २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधानतथा २०७२ सालको संविधानमा दलितको हक, अधिकारलाई सुनिश्चित गरिएको बताउनुभयो ।
दलितहरु माथि भएको जातिय विभेद र छुवाछुतको अन्त्य गर्न २००९ साल जेठ १० गते वी.पी. कोइरालाको नेतृत्वमा वाहुन, क्षेत्री, आदिवासी जनजाति, मधेशी, मुस्लिम सबै जाति समुदाय र दलित समुदाय बिचमा सँगै बसेर खाएर सहभोज गरेको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय समता दिवसको रुपमा मनाउँदै आएको नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताउनुभयो । शुभमामना आदान–प्रदान र सहभोज भनिएता पनि यो कार्यक्रम एउटा अभियान, सचेतना, विचार गोष्ठि, अन्तरक्रिया भएको जिकिर गर्दै यसबाट सामाजिक सद्भाव र एकता वृद्धि भएर जाने विशवास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य मिना सुब्बाले हक, अधिकार संविधानमा भएर मात्र हुँदैन यसको लागि आफैँ अग्रसर पनि हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातिय भेद्भाव र छुवाछुतलाई पूर्ण रुपमा उन्मुलन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी कांग्रेसका कोशी प्रदेश सदस्य एवम् दलित विभाग प्रमुख गणेश परियारले नीतिनियम बनेको भएता पनि कार्यान्वयन नभएको गुनासो व्यक्त गर्नुभयो ।
दलितको नाममा गैर दलितहरुले सुविधा र अवसर पाएको भन्दै नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नालले रोष प्रकट गर्नुभयो ।
कार्यक्रममा धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, स्ववियू सभाति प्रशान राई, नेपाल तरुण दल क्षेत्रीय सभापति अजय राई, नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य अलिम अन्सारी, नेपाल महिला संघ जिल्ला सदस्य कोपिला गौतम, नेविसंघ महेन्द्र क्याम्पस ईकाई सभापति विनोद आले, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, लगायत विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समिति, परियार सेवा समाज, मरिक सेवा समाज, वादीउत्थान समाज, गन्धर्व समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।