• ११ जेठ २०८२, आइतबार

‘०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित थियो’

blog

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंह आइतबार १० औं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ११ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ सालभन्दा अगाडिको व्यवस्थामा कराँते खेल प्रतिबन्धित रहेको बताउनुभएको छ । आइतबार १० औं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै सिंहले एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थामा कराँते समेत सबैले खेल्न नपाउने अवस्था रहेको बताउनुभयो ।

०४६ सालको जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्न र खेल्न पाउने अवस्था बनेको भन्दै उहाँले निरङ्कुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गर्नुभयो ।

‘‘०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित नै थियो । खेलाडीहरूले गुरूहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियो ।’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘जनअधिकारलाई सुरक्षित गर्दै देश विकासको कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ ।’’

उहाँले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले खला रूपमा खेल खेल्न पाउने अवस्था बनेको बताउनुभयो । प्रजातन्त्र आएर के भयोर भनेर भ्रम फैलाउन खोज्नेहरू सक्रिय रहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्तिपछि नै नागरिक अधिकार सुरक्षित भएको नविर्सन आग्रह गर्नुभयो । 

उहाँले प्रतियोगिता सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । त्यस्तै, उपप्रधानमन्त्री सिंहले ०१७ सालमा जनताको अधिकार खोसिएपछि त्यसलाई पुनःवहाली गर्न र खेलकूदको विकासमा धनबहादुर महर्जनको भूमिका रहेको पनि स्मरण गर्नुभयो ।