• ११ जेठ २०८२, आइतबार

मध्यपहाडी राजमार्ग मर्मत सुरु

blog

गोलन्जोर गाँउपालिका–३ मुर्किबेसीमा गत वर्ष सुनकोसी नदीको बाढीले भत्काएको सडक मर्मत गरिँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, जेठ ११ गते । मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षातको मौसम नजिकिएसँगै मध्ये पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बाढी पहिरोबाट क्षतीग्रस्त सडक मर्मत सुरु गरेको हो । 

यही जेठ महिनाको पहिलो सातामा निर्माण कम्पनी सहयोगी कन्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त सडक मर्मत सुरु गरेको सडक आयोजनाले जनाएको छ । उक्त सडक आयोजनाका अनुसार सहयोगी कन्ट्रक्सनले भ्याट सहित करिब १० करोड रुपियाँमा सडक मर्मतका लागि सम्झौता गरी काम सुरु गरेको हो । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा गत वर्षको बाढी र पहिरोबाट दर्जनभन्दा बढी स्थिनामा क्षतीग्रस्त बनेको छ । अहिले गोलन्जोर गाँउपालिकाको बलेनी, मुर्किबेसी र फिक्कल गाँउपालिकाको घुर्मी नजिक सडक मर्मतको काम सुरु भएको छ ।

मध्य पहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापका डिभिजन इन्जिनियर बिदुर पौडेलले वर्षाअघि काम गर्नै पर्ने ठाँउमा सडकको मर्मत सुरु गरिएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘उक्त निर्माण कम्पनीको ठेक्का अवधि असार २५ सम्म रहेको छ । वर्षाअघि सडक सजिलै होस भन्ने हाम्रो अपेक्षा हो ।’

निर्माण कम्पनीले तोकिएको समय अवधिमा म काम सक्छु र त्यही अनुसार परिचालन हुन्छु भनेकोले सम्झौता गरी कामको जिम्मेवारी दिएको उहाँको भनाइ छ । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने उक्त राजमार्ग गतबर्षको बाढी पहिरोबाट क्षतीग्रस्त हुँदा यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । 

हालसम्म पुननिर्माण तथा स्तरवृद्धी नहुँदा यात्रा दुर्घट्नाको जोखिमपूर्ण बनेको स्थानीय बताउँछन् । उक्त सडकको कतिपय ठाँउमा सुनकोसी नदीको बाढीले नोमोनिसाना नै नरहने गरी बेस(आधार) सहित बगाएपछि अहिले काम चलाउ रुपमा बगरबाट अस्थायी ट्रयाक निर्माण यातायात सञ्चालन भइरहेको छ । 

गोलन्जोर गाँउपालिका–६ का वडा अध्यक्ष रबिनकुमार श्रेष्ठ उक्त पालिकामा सडकको सबैभन्दा बढी क्षती बलेनी, मुर्किबेसी क्षेत्रमा र सडक नै सुनकोसी नदीमा नै खसेको बताउनुहुन्छ ।

स्थानीयका अनुसार खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भाग सहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्कि(कालो पत्रे) का कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाँउमा बाढी पहिरोले भत्काएर असुरक्षित बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाँउपालिकाको सुनकेसी नदीको किनार हुँदै निर्माण भएको छ ।

बाढी पहिरो गएको बेला स्थानीय प्रशासन, स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याएकाे थियो । धेरैजसो ठाँउमा बाढीपहिरो गएको बेला सडकमा थुप्रिएको पहिरो अझै पन्छाउने काम नभएको वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

उहाँका अनुसार सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । उक्त सडकको हैबारमा पर्ने सुख्खा पहिरो सबारी साधनका लागि सबैभन्दा ठुलो अभिसाप बनेको छ । ‘उक्त पहिरो सुख्खा मौसम र बर्षाको मौसममा पनि झरी रहन्छ,’ उहाँले भन्नुभयो, ‘जस कारण घण्टौसम्म सबारी साधन अवरुद्ध भइरहन्छ ।’

सडक मर्मत कार्यमा संलग्न सहयोगि कन्ट्रक्सनका ठेकेदार पुष्करराज शिवाकोटीका अनुसार बाढी पहिरोबाट उक्त खण्डमा सडक धेरै ठाँउमा भत्किएको छ । अहिले जहा अत्यावश्यक छ, त्यहाँ मर्मत तथा पुननिर्माणको काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘वर्षामा नचल्ने ठाँउहरु छ, त्यहाँ काम गरी बर्षामा गाडी चल्ने बनाउन लागिएको हो ।’