सिन्धुलीमाढी, जेठ ११ गते । गत वर्षको बढी पहिरोबाट क्षतिग्रस्त मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ ।
यो वर्षको वर्षादको मौसम नजिकिएसँगै मध्य पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बढी पहिरोबाट क्षतिग्रस्त सडक मर्मत सुरु गरेको हो । यही जेठ महिनाको पहिलो सातामा निर्माण कम्पनी सहयोगी कन्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त सडक मर्मत सुरु गरेको सडक आयोजनाले जनाएको छ ।
उक्त सडक आयोजनाका अनुसार सहयोगी कन्ट्रक्सनले भ्याटसहित करिब १० करोड रुपियाँमा सडक मर्मतका लागि सम्झौता गरी काम सुरु गरेको हो । ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा गत वर्षको बाढी र पहिरोबाट दर्जन बढी स्थिनामा क्षतिग्रस्त बनेको छ । अहिले गोलन्जोर गाउँपालिकाको बलेनी, मुर्किबेसी र फिक्कल गाउँपालिकाको घुर्मी नजिक सडक मर्मतको काम सुरु भएको छ ।
मध्य पहाडी राजमार्ग योजना कार्यालय सित्खा, रामेछापका डिभिजन ईन्जिनियर बिदुर पौडेले वर्षाअघि काम गर्नै पर्ने ठाउँमा सडकको मर्मत सुरु गरिएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘उक्त निर्माण कम्पनीको ठेक्का अवधि असार २५ सम्म रहेको छ । वर्षाअघि सडक सजिलै होस भन्ने हाम्रो अपेक्षा हो ।’’
निर्माण कम्पनीले तोकिएको समय अवधिमा म काम सक्छु र त्यही अनुसार परिचालन हुन्छ भनेकाले सम्झौता गरी कामको जिम्मेवारी दिएको उहाँको भनाई छ । नेपालको पुर्वी पहाडी तथा हिमाली जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने उक्त राजमार्ग गतवर्षको बाढी पहिरोबाट क्षतिग्रस्त हुँदा यात्रा अझै जोखिमपूर्ण अवस्थामा रहेको छ । हालसम्म पुनर्निर्माण तथा स्तरवृद्धी नहुँदा यात्रा दुर्घटनाको जोखिमपूर्ण बनेको स्थानीय बताउछन् ।
उक्त सडकको कतिपय ठाँउमा सुनकोशी नदीको बाढीले नोमोनिसाना नै नरहने गरी बेस(आधार)सहित बगाएपछि अहिले काम चलाउ रुपमा बगरबाट अस्थायी ट्रयाक निर्माण यातायात सञ्चालन भइरहेको छ । गोलन्जोर गाउँपालिका–६ का वडा अध्यक्ष रबिनकुमार श्रेष्ठ उक्त पालिकामा सडकको सबैभन्दा बढी क्षति बलेनी, मुर्किबेसी क्षेत्रमा र सडक नै सुनकोशी नदिमा नै खसेको बताउनुहुन्छ ।
स्थानीयका अनुसार खुर्कोट–घुर्मी सडक सिन्धुली तथा रामेछाप जिल्लाको पूर्वी भाग सहित खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर जिल्लालाई राजधानीसँग जोड्ने सडक हो । पक्कि(कालो पत्रे) का कारण यात्रा सहज रहेको उक्त सडकको विभिन्न ठाउँमा बाढी पहिरोले भत्काएर असुरक्षित बनाएको छ । उक्त सडक सिन्धुली जिल्लाको गोलन्जोर र फिक्कल गाँउपालिकाको सुनकेशी नदिको किनार हुँदै निर्माण भएको छ ।
बढी पहिरो गएको बेला स्थानीय प्रशासन, स्थानीय सरकारले पहिरो पन्छाएर तत्काल एकतर्फी यातायात सञ्चालनमा ल्याए थियो । धेरैजसो ठाँउमा बाढीपहिरो गएको बेला सडकमा थुप्रिएको पहिरो अझै पन्छाउने काम नभएको वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
उहाँका अनुसार सडकको विभिन्न स्थानमा भासिएको, चर्किएको तथा पहिरो खसेका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । उक्त सडकको हैबारमा पर्ने सुख्खा पहिरो सबारी साधनका लागि सबैभन्दा ठुलो अभिसाप बनेको छ । ‘‘उक्त पहिरो सुख्खा मौसम र बर्षाको मौसममा पनि झरी रहन्छ,’’ उहाँले भन्नुभयो, ‘‘जसका कारण घण्टौँसम्म सवारी साधन अवरुद्ध भइरहन्छ ।’’
सडक मर्मत कार्यमा संलग्न सहयोगी कन्ट्रक्सनका ठेकेदार पुष्करराज शिवाकोटीका अनुसार बाढी पहिरोबाट उक्त खण्डमा सडक धेरै ठाउँमा भत्किएको छ । अहिले जहा अत्यावश्यक छ, त्यहाँ मर्मत तथा पुनर्निर्माणको काम भई रहेको छ । उहाँले भन्नुभयो, ‘‘वर्षामा नचल्ने ठाँउहरु छ, त्यहाँ काम गरी वर्षामा गाडी चल्ने बनाउन लागिएको हो ।’’