• ११ जेठ २०८२, आइतबार

सगरमाथा संवादले नछोएको पाटो

blog

स्वागतयोग्य सगरमाथा संवाद २५ बुँदे सचेतनापत्र जारी गर्दै सकिएको छ । संवाद सगरमाथाको मात्रै नभई विश्वका सबै हिमालको संवाद हो । जलवायु परिवर्तनका कारण मानवलाई पारेको असरमा मात्रै होइन कि सम्पूर्ण चराचर जगत्, जलचर र थलचरलाई परेका मर्काका बारेमा संवादमा बहस र छलफल चलाइए । मानव सृजित विध्वंसका कारण विश्वले भोग्दै गएका समस्या भोलिका दिनमा यसले पार्ने सङ्कटको चर्चा गर्ने थलो बन्यो सगरमाथा संवाद । पृथ्वी र मानव जातिको भविष्य सुनिश्चित होस् भन्दै नेपालले सगरमाथा संवाद गरेको हो । 

पैसाले मात्रै सबै समस्या हल हुँदैन । विकसित देशले वातावरण बिगार्दै जाने र गरिब मुलुकले पैसा सोहोर्दै गएर मात्रै अहिलेका समस्याको समाधान हुन सक्दैन । पश्चिमतिरबाट हिमालतर्फ उड्दै आएको कार्बनलाई पैसाको बिटोले छेक्दैन । हिमालबाट बग्ने पानीको मात्रा घटेपछि नदीनालामा पैसा बगाएर मान्छेको तिर्खा मेटिँदैन । पृथ्वीको तापक्रम बढ्दै गएपछि डलर समाएर हम्किनु उचित उपाय होइन । जलवायु बिगार्न जुन जुन मुलुकले महत्वपूर्ण भूमिका खेलिरहेका छन्, ती मुलुक सचेत भई वातावरणीय दृष्टिकोणले उपयुक्त मार्ग अवलम्बन गर्नु नै उपयुक्त समाधान हो ।

नेपालले पनि फरक ढङ्गले सोच्न आवश्यक छ । नेपाल संस्कृत विश्वविद्यालयकी उपप्राध्यापक डा. रेखा बरालसहितको टोलीले दुई वर्षअघि अन्नपूर्ण संरक्षण क्षेत्रको अध्ययन अनुसन्धान गरेको थियो । त्यहाँ बढ्दै गएका पर्यटकको सङ्ख्याले मुलुकको आम्दानी बढेको भए पनि पर्यटकले विसर्जन गर्ने ठोस फोहोरका कारण जलवायु, इकोसिस्टम र जैविक विविधतामा व्यापक नकारात्मक प्रभाव परेको निष्कर्ष अध्ययनको थियो । हिमाली क्षेत्रमा बदलिएको जलवायुमा मानवीय हस्तक्षेप पनि प्रमुख कारणका रूपमा रहेको छ । यसले वनस्पति, अन्नपातलगायतका विविध आवश्यकीय पदार्थमा समेत उत्तिकै नकारात्मक प्रभाव परेको छ । विदेशीसँगको हेलमेलले नेपालीले आफ्नो संस्कार र संस्कृति भुल्दै गएको अर्को पाटो पनि छ ।

नेपालीको आफ्नै मौलिक आस्था, परम्परा र विश्वास छ । जीवित तथा निर्जीव दुवैको पूजा आराधना गर्ने प्रचलन नेपालमा छ । प्रकृति पूजा पनि नेपालीको गहन परम्परा हो । हिमाल, पर्वत, पहाड जे भने पनि तिनीहरूको आराधना नेपालीले गर्दै आएका छन् । पछिल्ला समयमा हिमालमाथि भने पूजा पनि गर्ने र अन्याय पनि गर्ने प्रचलन बढ्दै गएको छ ।

कुनै मन्दिर देखेमा हामी मन्दिरलाई दाहिने पारेर मात्रै हिँड्ने गर्दछौँ । चौबाटो, चौतारा आदि छन् भने पनि त्यस्तोमा हामी चौतारालाई दाहिने नै पार्दछौँ । जुनसुकै देवताका मूर्ति देखे पनि हामीहरू दुई हात जोडी श्रद्धा प्रकट गरिहाल्छौँ भने हिमालय त हाम्रा महादेव शिवका ससुरा हुन् । हामीले पूजा गर्दै आएकी देवी पार्वतीका पिता हुन् । हिमालयमा देवताहरूको आत्माको निवास हुन्छ भन्ने त कालिदासले लेखेकै छन् भने तिनै हिमालयमा मान्छेहरूले कुल्चने, चढ्ने र विजयप्राप्त गरेको भनेर हल्ला फिँजाउने गर्नु कसै गरी ठिक मान्न सकिन्न । साहसिक खेल वा साहसिक पर्यटनका नाममा देवताका आत्मा रहेका हिमालमा डोरी टाँग्न शिरदेखि पाउसम्मका सबै अङ्गमा किला ठोकिएको छ । हिमालका मुटु, कलेजो, फोक्सो सबै छियाछिया पारिएको छ अनि हिमाल सुरक्षित रहेन भनेर चिन्ता व्यक्त गरेर मात्रै कसरी पुग्ला र ?

आधुनिकताले छपक्कै छोपेको यो युगमा हिमालयलाई देवता भन्दा धेरैलाई नपच्न पनि सक्छ । अरूको कल्याण गर्नेलाई हामी देवता भन्छौँ र अन्यायीलाई राक्षस भन्छौँ । हिमालयहरूले यही धर्तीका अर्बौं मानिसलाई पानी पिलाइरहेका छन् । हिमालबाट बगेको पानीले खेतीबालीमा सिँचाइ गरी यही धर्तीका अर्बौं प्राणीको पेट भर्ने काम गरिरहेको छ । वनस्पतिमा सिञ्चनमा पनि हिमालकै योगदान छ । समुद्र भर्ने काम हिमालबाट पग्लेर आएको पानीले नै गर्छ । वर्षा गराउने भूमिका समुद्रको पानीको नै हो । 

हिमालयका फेदमा टेन्ट गाडेर भोजभतेर गरिन्छ । बियर र रक्सीका बोतल यत्रतत्र छरेर हिँड्ने गरिन्छ । त्यहीँ शौच गरिन्छ । यस्ता कार्यका लागि अनुमति प्रदान गर्नका लागि पौरस्त्य परम्परा मान्दै आएका शासकका मनले मान्न नपर्ने हो । हिमालय भनेको पूजा गर्नुपर्ने प्रकृतिको उपहार हो, यहाँ चढ्ने होइन भन्ने चेतना फैलाउनु पर्ने हो तर यसको ठिक उल्टो आफ्ना पूर्वजका मान्यता विपरीतका कार्य गर्दै जाने अनि हिमालय काला पहाडमा परिणत भए भनेर चिन्ता व्यक्त गर्नु हास्यास्पद हो । नेपालकै सीमामा चीनको अधीनमा रहेको कैलाशलाई कसैले छुन पनि पाइँदैन । नेपालमा रहेका हिमालयका शिरमा दैनिकै दर्जनौँ मान्छे उक्लेर बुट बजार्ने र तिनैलाई खादा माला लगाएर बधाई ज्ञापन गर्नु किमार्थ उचित नमान्नु पर्ने हो ।

नेपालका हिमाल दिनानुदिन पग्लिँदै गइरहेका छन् । केही वर्षअघिसम्म सेता देखिने आकर्षक हिमाल अहिले काला पहाडमा परिवर्तित हुँदै गएका छन् । असोज महिनादेखि नै हिमालमा हिउँ पर्न थालेर पुस माघ महिनामा पुग्दा सेताम्मे भई मनमोहक हुने गरेका हिम चुचुरा हिजोआज अत्यधिक जाडोको मौसममा पनि हिउँले भरिएको देख्न पाइँदैन । विश्वकै ध्यान आकृष्ट गर्न सफल हिमाल अचेल न आकर्षक देखिन्छन्, न त्यहाँ हिउँ नै पर्छ । यो सगरमाथाको र नेपालका अन्य हिमालको मात्रै समस्या नभएर विश्वकै हिमालले यस्तै दुर्गति भोगिरहेका छन् ।

काठमाडौँमा असोज नलाग्दैदेखि ज्याकेट लगाउनु पर्ने जाडो हुन्थ्यो । नेपालमा असार साउनमा पानी पर्दथ्यो । पुस र माघमा त तुसारो परेर काठमाडौँ कठ्याङ्ग्रिएको हुन्थ्यो । माछालाई पनि जाडो हुने पचास दिन हराइसके र मीनपचास भनेको अर्थै नलाग्ने भइसक्यो । नेपालका पहाडी क्षेत्रमा लामखुट्टे हुँदैनथे । हिजोआज यी सबै कथा भएका छन् । फागुन चैतमै वर्षा हुन्छ । असोजमा विनाशकारी बाढी आएर देशमा हाहाकार हुन्छ । कहिले धान रोप्ने, कहिले काट्ने भन्ने नै अन्योलमा पुगिसक्यो । मौसमी चक्र पूरै बदलिएको छ ।

विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्येका विश्वले मान्यता दिएका आठ वटा हिमाल नेपालमै छन् । ती सबैमध्येमा सबैभन्दा अग्लो सगरमाथा नेपालमा पर्ने भएकाले पनि नेपाल माउण्ट एभरेस्टको देश भनेर विश्वभरि चिनिएको छ । अझै नेपालमा १४ वटा हिमाल आठ हजार मिटरभन्दा अग्ला छन् भन्ने पनि लगभग पुष्टि भएकै अवस्था छ । प्रकृतिका वरदानका रूपमा प्राप्त यस्ता पुँजी खतरामा पर्दै गएकाले नेपालले सगरमाथा संवाद आयोजना गर्नु सान्दर्भिक र उचित हो तर अन्य राष्ट्रले पनि उत्तिकै चासो दिन जरुरी छ ।

हाम्रा देशमा हिमाल छैनन्, हामीलाई के मतलब भनेर कुनै देशले भन्यो भने त्यो उसैको मूर्खता हो । हामी त एसी रुममा बसेर स्वच्छ हावा लिन सक्छौँ, अविकसित देशको हामीलाई के वास्ता भन्ने विकसित देश भए भने त्यो उनीहरूकै दिवालियापन हो । नेपालका हिमाल पग्लनु नेपालको मात्रै चिन्ता अवश्यै होइन । जलवायु परिवर्तनले नेपाललाई असर पार्दा विश्व नै त्यसको भूमरीमा फस्छ । जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने हिमाल जोगाउने दायित्व नेपालले मात्रै नभई विश्वले नै लिनु पर्छ ।

सवारीसाधनदेखि लिएर यान्त्रिक उपकरणबाट निस्कने धुवाँले पारेका प्रभाव, डढेलो, धुलो र अन्य प्रदूषणका कारण बिग्रिँदै गएको हावापानी आदि निश्चय नै प्रमुख कारक हुन् । वन फडानी, बढ्दो औद्योगीकरण, मानिसले गर्ने प्रकृतिको अत्यधिक दोहन आदि जलवायु परिवर्तनका विषय हुने नै भए तर पूर्वीय मान्यतालाई अनुसरण गर्दै आएका नेपाल तथा भारत एवं यस्तै मुलुक यत्तिमा मात्रै सीमित हुनु उपयुक्त हुँदैन । हिमाललाई धार्मिक आस्थाका केन्द्र बनाउनेतर्फ पनि अग्रसर हुनु पर्छ ।

हिमालयलाई पर्यटन आकर्षणको सबैभन्दा ठुलो केन्द्रका रूपमा मानिएको छ, जुन सत्य पनि हो । हिमाल भएका देशले हिमालको सौन्दर्य बेचेर आयआर्जनको स्रोत बनाएका छन्, जुन गर्नै पनि पर्छ तर हिमालयको दोहन कतिसम्म गर्ने भन्ने चाहिँ कसैले निर्धारण गरेको छैन । हिमालको सौन्दर्य बिक्री गर्नु स्वीकार्य हुन सक्छ तर हिमालकै सर्वनाश हुने गरी यसलाई प्रयोग गरेर आम्दानी मात्रै हेर्नुलाई भने उचित मान्न सकिँदैन । हिमाल जोगिने गरी मात्रै पर्यटकीय माध्यमका रूपमा उपयोग गर्नेतर्फ सम्मेलनको ध्यान जान्छ कि जाँदैन त्यो हेर्न बाँकी नै छ ।

विश्वका कति कुरा संरक्षणीय हुन्छन् र तिनलाई सङ्ग्रहालय आदिमा राखिएका हुन्छन् । सङ्ग्रहालयमा संरक्षित सामग्री हेर्न मात्रै पाइन्छ, कसैले छुनसम्म पनि पाइँदैन । हेर्नलाई पाइन्छ, छुन चाहिँ पाइँदैन भने जस्तै भौतिक युगमा सिर्जना गरिएका सामग्री, जुन नासिएमा त्यस्तै पुनः बनाउन सकिन्छ र त त्यसरी राखिएको हुन्छ भने हिमाल जस्ता मानवले निर्माण गर्न नसक्ने प्राकृतिक सम्पदाहरूमा जथाभाबी मानवीय क्रियाकलाप बढाउनु कुनै दृष्टिले पनि जायज मान्न सकिन्न । यसमा नियन्त्रण गर्ने उपायका बारेमा सोच्न अब ढिला गर्न किमार्थ हुँदैन ।

हिमालयलाई पृथ्वीको कवच मान्छन् । जलवायु सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका हिमालले खेल्छ भन्ने पनि सबैलाई जानकारी छ । जलवायु बिग्रे हिमाल पग्लन्छन् र हिमालमा हिउँ नरहे जलवायु बिग्रन्छ । दुवैको दुवैसँग प्रत्यक्ष सम्बन्ध छ । पृथ्वीको संरक्षणका खातिर पनि हिमाल बचाउनै पर्छ । हिमाल जोगाउन जिम्मा हिमाल भएका देशको मात्रै पनि होइन । पृथ्वीको वातावरण बिग्रेपछि प्रदूषण फैलाउने विकसित देश पनि सुरक्षित रहन सक्दैनन् । यो चासो सबैको हो भन्ने ठानेर संवेदनशील हुन जरुरी छ ।

हिमालय जोगाउने नै हो भने अब नेपालले पनि हिमालभन्दा केही किलोमिटर परबाट मात्रै हेर्न पाउने व्यवस्था मिलाउनु पर्छ । कसैले हिमाल टेके जरिबाना तिराउनु पर्छ । बेस क्याम्पमा पुगेर हिमालको दर्शन गरेको विदेशीलाई दस हजार डलर र नेपालीलाई दश हजार रुपियाँ लाग्ने प्रावधान बनाए पनि अहिलेकै जत्तिका पर्यटक आउने छन् । राष्ट्रको आम्दानी जोगिने र हिमालय पनि संरक्षित हुने उपाय नेपाल र नेपालीले सोच्नै पर्छ । होइन भने न नेपालका हिमालय नै रहन्छन् न त विश्वको पर्यावरणमा हिमालयहरूको योगदान नै कायम रहिरहने अवस्था हुन्छ ।