फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १० गते। ताल किनारको बैदामे गाउँ अचेल लेकसाइड बनेको छ। पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा रहेको तालले छेउको बस्तीको नाम र स्वरूपमात्र फेरेको छैन, आफ्नै नामसमेत बद्लेर फेवातालबाट चर्चित छ।
डुङ्गा सैर, माछापालन, सिँचाइदेखि बिजुली उत्पादनसमेत हुँदै आएको फेवा यो क्षेत्रको परिचय, जीवनको आधार र अमूल्य सम्पत्ति त सावित भएको छ नै, भवितव्य र हेलचेक्र्याइँले यदाकदा कालसमेत बन्ने गरेको छ। वैशाख, जेठ महिनामा दिउँसो दिनहुँजसो चल्ने हुरी र हुने वर्षाले तालमा बारम्बार दुर्घटना हुने गरेका छन्।
तालबाट यो आर्थिक वर्षमा मात्र ३८ जनाको जीवित उद्धार गरिएको छ भने एक जनालाई मृत निकालिएको छ। सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्य तिमिल्सिना अघिल्लो वर्ष तालमा भएका दुर्घटनामा ७४ जनालाई जीवित उद्धार र छ जनाको शव निकालिएको उल्लेख गर्नुहुन्छ।
फेवामा बेला बेलामा ठुला दुर्घटना भएका थिए। २०१८ मा डुङ्गा पल्टिएर घाँस दाउरा काट्न हिँडेका १९ स्थानीयको ज्यान गएको थियो भने २०४३ मा वनभोज खाएर फर्किएका २१ जनामध्ये १८ को ज्यान गएको थियो। २०६१ मा डुङ्गा पल्टिँदा छ सुरक्षाकर्मीको मृत्यु भएको थियो।
“डुङ्गा सैर, प्याराग्लाइडिङ, माछा मार्ने, आत्महत्या गर्ने आदि क्रममा भवितव्य र कहिलेकाँही लापरबाहीले दुर्घटना हुने गरेका छन्,” तिमिल्सिना भन्नुहुन्छ, “फेवाबाट अहिलेसम्म पाँच सय १७ जनाको जीवित अवस्थामा उद्धार गरिएको छ भने ४० शव निकालिएको छ।” यो तथ्याङ्क २०६९ पुसमा वाराही घाटमा रेस्क्यु टावर बनेपछिको हो।
यही वैशाख २२ गते हावाहुरी र वर्षापछि तालबाट आठ जनाको उद्धार गरिएको थियो। त्यसको चार दिनपछि फेरि अर्काे डुङ्गा दुर्घटनामा चालकको उद्धार गरियो। बारम्बार दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले त्यसलाई कम गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको संयोजकत्वमा अनुगमन समिति बनाएको छ।
वैशाख ३१ भएको सुरक्षा निकाय, प्रशासन र सरोकारवालाको बैठकले सुरक्षा उपकरण र उद्धार जनशक्तिको तयारीसहित विभिन्न निर्णय गरेको छ। रेस्क्यु टावरले खतराको साइरन बजाएपछि जोखिम नहटेसम्म डुङ्गा बन्द गर्ने निर्णयसमेत भएको लम्सालले जानकारी दिनुभयो।
तालका दुर्घटनामा सुरक्षा निकायहरुले समन्वय र एकल रूपमा समेत उद्धार गर्दै आएका छन्। सशस्त्र प्रहरीले रेस्क्यु टावरसँगै विपद् तालिमप्राप्त २० जनालाई दुई सिफ्टमा परिचालन गर्ने गरेको छ। टावरसँग गोताखोरसहित साइरन, र्याफ्ट, मोटर बोटसमेत छ। हावाहुरी आउने पूर्वसङ्केत दिने यन्त्र (विन्ड सेन्सर)समेत यहाँ राखिएको छ।
नेपाल प्रहरीले सूचना आएपछि उद्धार गर्ने गरेको छ। गण्डकी प्रदेश प्रहरी गण पोखरामा रहेको विपद्को छुट्टै टोली, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयको टोली आवश्यकताअनुसार उद्धारमा परिचालन हुने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया बताउनुहुन्छ। “धेरैजसो जानकारी १०० मै आउँछ, सूचना आएपछि प्रहरी परिचालित भई हाल्छ, आवश्यक परे गणको जनशक्ति बोलाइन्छ, सशस्त्रसँग पनि समन्वय हुन्छ,” उहाँले भन्नुभयो।
फेवामा उद्धारका लागि नेपाली सेनाको उपकरणसहितको तालिमप्राप्त टोली छ। कृष्ण दल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी गोताखोरसहितको ११ सदस्यीय टोली उद्धारका लागि खटिएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “आवश्यक उपकरणसहितको डिज्यास्टर एसिस्टेन्ट रेस्पोन्स टिममा गोताखोरहरू पनि छन्। यो टिमले गएको वैशाख महिनामा मात्र सात विदेशीसहित २३ जनाको जीवित उद्धार गरेको छ।”
फेवातालमा बारम्बार दुर्घटना हुँदा धनजनको क्षतिसँगै पोखराबारे नराम्रो सन्देश जाने भएकाले हुरी र वर्षाका बेला डुङ्गा सञ्चालनमा रोक लगाउनुपर्ने आवाजसमेत उठ्ने गरेको छ। नागरिक अधिकारकर्मी रामबहादुर पौडेल तालबाट अनेक फाइदा भए पनि प्राकृतिक विपत्तिलाई नजरअन्दाज गर्न नहुने बताउनुहुन्छ।
पाँच दशमलव सात दुई वर्गकिमीमा रहेको फेवाका आठ घाटमा डुङ्गा व्यवसायी समिति आबद्ध सात सय १२ डुङ्गा छन्। समितिले विपद्का लागि मोटरबाट चल्ने रेस्क्यु बोट पनि राखेको छ। समिति अध्यक्ष बलराम गिरी यदाकता भवितव्य हुने गरेकोमा अहिले जोखिम बढेको बताउनुहुन्छ। तर अहिले जथाभाबी सर्फिङ, कायक, स्नेटबोट चलाउँदा दुर्घटनाको भय भएको उहाँको भनाइ छ।