साहारा लिम्बू
फुङ्लिङ, जेठ १० गते । याकलाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेश गरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको हिमालको काखमा अवस्थित रामजेर क्षेत्रमा प्रशस्त मात्रमा याक देख्न सकिन्छ । करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको रामजेर क्षेत्रमा सिरिजङ्घा गाउँपालिकाको सबै याक पालकहरूले आफ्ना याक राख्ने गर्दछन् ।
पछिल्लो समय याक पालक कृषकहरू पलायनको अवस्था हुँदा सिरिजङ्घा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिकाले याक प्रवर्धनका लागि अनुदानको कार्यक्रम अघि सारेका छन् । विशेष गरी ताप्लेजुङ जिल्लाका यी नै पालिकाहरूमा याक पाइने गर्दछ ।
कोरोनापछि चिन सँगको नाका बन्दका कारणले गर्दा याकको मूल्यमा भने धेरै गिरावट आएको सिरिजङ्घा गाउँपालिका याम्फुदिनका याक पालक विष्णु शेर्पा बताउनुहुन्छ । उहाँका अनुसार यस अघि नाका खुला हुँदा एक लाखदेखि एक लाख ५० हजार सम्ममा बिक्री भएको याक अहिले ६० देखि ७० हजारसम्ममा पनि बिक्री हुन सकेको छैन ।