• ९ जेठ २०८२, शुक्रबार

कुश्मा नगरपालिकालाई गिज्याइँ रहेको ‘कुश्मा घण्टाघर’

blog

पर्वतको कुश्मा नगरपालिका–५को बञ्जि डिलमा निर्माण सम्पन्न भएको घण्टाघर । तस्बिरः गणेश पौडेल

गणेश पौडेल
पर्वत, जेठ ८ गते ।
कुश्मा नगरपालिकाले गौरवको योजना भन्दै लाखौं रुपियाँ खर्च गरेर ‘टावर’ निर्माण गरेको करिब दुई वर्ष वितिसक्यो । निर्माण सम्पन्न भएको संरचनामा ताला लगाएर राखिएपछि उपयोगितबारे सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।

करिब ८० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको टावरको कुनै उपयोग हुन नसक्दा नगरपालिका र नगरवासीलाई गिज्याइँ रहेको जस्तो देखिएको छ । टावर सञ्चालनमा यस आर्थिक वर्ष समेत कुनै योजना नभएपछि अलपत्र अवस्थामा रहेको छ ।

वरिपरीका घरहरु भन्दा पनि होचो ‘कुश्मा घण्टाघर’ नाम दिइएको टावर सामान्य रुपमा देख्दा पनि सर्वसाधारणहरु भने छक्क परेर हेर्ने गरेका छन् । किन के कारण यस्तो ठाउँमा संरचना निर्माण भएको नगरपालिका आँफू नै जानकार छैन । आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो ।

टावर निर्माण भएको तर किन बनाएको भन्ने खासै जानकारी नभएको कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष रामहरी चापागाईले बताउनुभयो । उहाँका अनुसार अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

‘‘हामी निर्वाचित हुनु पूर्व नै बनाउन सुरु भएको हुँदा सबै जानकारी छैन ।’’ उहाँले भन्नुभयो, ‘‘अहिले निर्माण सम्पन्न हुँदा समेत किन निर्माण गरिएको औचित्य पुष्टी हुन सकेको छैन ।’’

दुई वर्ष अगाडि नै निर्मााण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उहाँको भनाइ छ । ‘‘किन ताला लागेको भन्ने पनि जानकारी छैन ।,’’ चापागाईले भन्नुभयो, ‘‘हेर्दा राम्रो देखिएको छ किन बनाएका हुन् भन्ने थाहा पाएका छैनौं ।’’

नगर प्रमुख रामचन्द्र जोशीका अनुसार आँफूहरु अघिल्लो कार्यकालमा निर्वाचित भएर आएपछि घण्टाघर बनाउने सोचका साथ काम गरिएको बताउनुभयो । उहाँले अलि अग्लो ठाउँमा बनाउन खोज्दा विभिन्न अवरोध भएपछि अहिलेको स्थानमा लैजानुपर्ने बाध्यता भएको बताउनुभयो । अहिले वरिपरीका घरहरुभन्दा होचो भएकाले संरचनामा तला थप गर्न मिलेमा थप गर्ने योजना बनाएको जोशीले जानकारी दिनुभयो ।

नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘‘हामीले आवश्यकताको आधारमा काम ग¥र्यौं कि चर्चा कमाउन यस्ता संरचनामा लगानी ग¥यौं त्यसको पुष्टि नगरवासीलाई दिनुपर्छ ।’’ उहाँले भन्नुभयो ।

संरचना निर्माणमा जोड दिने तर पछि त्यसको सञ्चालनमा ध्यान नदिनाले निर्माण भएका संरचना प्रयोगविहीन बन्ने गरेका छन् । दीर्घकालीन रूपमा भन्दा पनि चर्चा कमाउन र क्षणिक समयका लागि बनाइएका संरचनाले सरकारको लगानी बालुवामा पानी जस्तै बन्ने गरेको स्थानीयवासीको भनाइ छ ।

घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफल नभएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको जानकारी दिनुभयो । 

यस वर्ष सञ्चालन गर्न नसकिएपछि अर्को वर्ष भने समयमा नै घडी खरिद गरेर राख्ने योजना बनाएको पौडेलले बताउनुभयो । ‘‘हामीले नेपालमा यस प्रकारको घडी नभेटेर अर्को वर्ष भारतबाट झिकाएर राख्ने तयारी गरेका छौं’’ उहाँले भन्नुभयो ।