ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ८ गते। संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणको ६५ वर्ष वर्षको अवधिमा ६ सय ८० जना पर्वतारोही धौलागिरिको शिखरमा पुगेका छन्। धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ। छिनछिनमा बदलिने मौसमका कारण धौलागिरि हिमाल आरोहणका हिसाबले अन्य हिमाल भन्दा चुनौतीपूर्ण छ।
पर्यटन विभागले निकालेको पर्वतारोहण सम्बन्धी किताबका अनुसार सन् २०२३ सम्म ६ सय ३८ जना र त्यसपछिका दुई वर्षको अवधिमा ४२ जना गरी ६ सय ८० जनाले धौलागिरिको सफल आरोहण गरिसकेका छन्।
सन् २०२४ मा २९ र २०२५ को हालसम्म १३ जनाले धौलागिरिको सफल आरोहण गरेको पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीले बताउनुभयो। आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य धौलागिरि हिमाल आरोहण निकै चुनौतीपूर्ण रहेकाले कम सङ्ख्यामा पर्वतारोही आउने गरेको उहाँले बताउनुभयो।
सन् १९६० मे १३ मा चार जना स्विस आरोही, एक अस्ट्रिया, एकजना जर्मनी र दुईजना नेपाली पर्वतारोहीको टोलीले धौलागिरिको सफल आरोहण गरेका थिए। स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धवलागिरि हिमालको सफल आरोहण गरिएको थियो।
आरोहण टोलीमा कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट,मिशेल भाउचर,ह्युगो वेबर र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुग्न सफल भएका थिए।
आरोहणको ६५ वर्ष पुगेको अवसर पारेर मे १३ अर्थात् गत वैशाख ३० गते पोखरामा एक कार्यक्रमको आयोजना हुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिले भने पत्तो नै पाएनन्।
‘पोखरामा धौलागिरि आरोहणकोे ६५ औं वर्ष मनाएको सामाजिक सञ्जालबाट थाहा पायौं’, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो, ‘‘आरोहण डे पोखरामा मनाएछन्। पालिकालाई कुनै जानकारी समेत भएन। अर्को वर्ष धौलागिरि क्षेत्रमै मनाउने गरी दबाब सिर्जना गर्दछौं।’’
राउन्ड धौलागिरि पदयात्राको प्रचारप्रसार र पदमार्गमा पूर्वाधार निर्माण आवश्यक रहेको मुदी बगरका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो। स्थानीय सरकारले धौलागिरि पदमार्गको विकासका लागि प्राथमिकतामा नराखेको उहाँले गुनासो पोख्नुभयो।
धौलागिरिको शिखरमा पुग्नुभएका पर्वतारोही लाक्पा शेर्पा।
उहाँले भन्नुभयो, ‘‘पदमार्गका कम्तीमा पाँच स्थानमा झोलुङ्गे पुलको आवश्यकता छ। व्यवस्थित पदमार्ग, पर्यटक बस्ने आश्रयस्थल लगायतका पूर्वाधार बनाउन सकेमा धौलागिरि पदयात्रामा आउने पर्यटकलाई सहज हुने थियो।’’ मुदीबाट सुरु हुने राउन्ड धौलागिरि पदयात्रा ९ दिन सम्मको छ।
मुदीबाट ९ दिनको पदयात्रापछि धौलागिरि आधार शिविर देखिमाथि पाँच हजार चार सय मिटर मा रहेको फ्रेन्चपास हुँदै मुस्ताङको मार्फा निस्किन्छ।
मुदीबाट सुरु भएको पदयात्रा बगर, दोभान, सल्लाघारी, इटाली बेसक्याम्प, जापानिज बेसक्याम्प,धौलागिरि बेसक्याम्प, हिटीनी भ्याली बेसक्याम्प, याकखर्क हुँदै मुस्ताङको मार्फा पुग्न सकिने पर्यटन व्यवसायी तिलिजाले बताउनुभयो।
पछिल्ला केही वर्षयता राउन्ड धौलागिरि पदयात्रा र आरोहणका लागि आउने पर्यटकको सङ्ख्यामा कमि आउन थालेको उहाँले बताउनुभयो। धौलागिरि आरोहणका लागि रसियन र यु्क्रेनीहरू धेरै आउने गरेकोमा युद्धका कारण आरोहीहरूको सङ्ख्यामा कमि भएको पर्यटन व्यवसायी तिलिजाले बताउनुभयो।
अर्को पक्ष धौलागिरि ट्रेक लामो र महँगो भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो। ‘‘चार देखि पाँचदिन सम्म पुरै हिउँमा पदयात्रा गर्नुपर्दछ। खानेकुरा र अन्य सामाग्रीहरू बोकेर लैजानका लागि धेरै गाइडहरूको आवश्यकता पर्ने भएकाले पनि पदयात्रा महँगो छ,’’ उहाँले भन्नुभयो।
उहाँका अनुसार धौलागिरि पदमार्गमा खोलाखोल्सीमा सामान्य पुल पनि छैनन्। पदमार्गमा रेलिङ, हिउँपहिरो भएका ठाउँको पहिचान, बाटो देखाउने चिह्न लगायत साधारण पूर्वाधार पनि नहुँदा पदयात्री समस्या पर्ने गरेको उहाँले बताउनुभयो। सरकारले सामान्य पूर्वाधार निर्माण गर्नुका साथै प्रचारप्रसार गरिदिए धौलागिरि पदयात्रामा पर्यटकको सङ्ख्यामा बृद्धि हुने उहाँले आशा व्यक्त गर्नुभयो।