दिवाकर पोख्रेल
देउखुरी, जेठ २९ गते । दाङको राजपुर गाउँपालिका–१, बेलाका अजय यादव दुध बिक्री गर्न पौडेर राप्ती नदीवारि लमही आउनुहुन्थ्यो । नदीमा भेल आएको समयमा दुध बिक्री गर्न बजार आउन सम्भव नै थिएन । कति पटक उहाँले दुधले भरिएका भाँडा नै नदीमा बगेको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुल नहुँदा राप्तीपारि (लमही बजार क्षेत्र) मा जान हैरानै थियो, भेलमा दुधले भरिएका ग्यालेन नै नदीले बगाएर घर फर्केको छु, पुल बनेपछि पहिलेको सबै कष्ट बिर्साएको छ ।”
राजपुर गाउँपालिका–२ मटेरियाकी सुनिता यादव अहिले स्नातक तहमा अध्ययन गर्न घरबाटै क्याम्पसको बसमा लमही आउनुहुन्छ । दोस्रो वर्षमा अध्ययनरत उहाँले प्रथम वर्षमा अध्ययन गर्दा लमहीमै डेरा लिएर बस्नुभयो ।
गत वर्षबाट लमही–हस्नापुर–बेला अन्तर्गत राप्ती नदीमा पुल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आएपछि डेरा छाडेर भ्यानमा क्याम्पस जानुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरको खाना खाएर घरमै खाना खान आउने गरी क्याम्पसको भ्यानमा क्याम्पस जाने आउने कुरा हाम्रा लागि ठुलो भाग्य हो जस्तो लागेको छ, अब त राप्ती वारिपारि भन्ने नै छैन ।”
देउखुरीका दक्षिणी क्षेत्रका दुई पालिका गढवा, राजपुरलाई राप्तीपारि र उत्तरी क्षेत्र लमही र राप्तीलाई राप्तीवारिको नामबाट चिन्ने गरिन्थ्यो । पुल निर्माणसँगै राप्ती वारिपारिको समस्या नै नरहेको स्थानीय बताउँछन् ।
शिक्षक केशवराम यादवले अब दक्षिणी र उत्तरी क्षेत्रले अब देउखुरीका चार वटै पालिकामा नाका क्षेत्रबाहेकको सबै स्थानमा सडकको असुविधा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो राप्ती वारिपारि भन्न छाडे हुन्छ, १०/१५ मिनेटमै वारपार गर्न सकिने गरी धेरै ठाउँमा पुल बनेका छन्, अब पहिले जस्तो समस्या छैन ।” दाङको भालुवाङदेखि अमेलियासम्म छ वटा पक्की पुल बनेर सञ्चालनमा आएका छन् । नेपालकै दोस्रो लामो पुल सिसहनियाँ–महदेवासहित पश्चिम क्षेत्रमा पक्की पुल बनेपछि नदी तरेर वारपार गर्नुपर्ने बाध्यता हटेको हो ।
सिसहनियाँ–महदेवा पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झन्डै एक अर्ब रुपियाँको लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ ले निर्माण गरेको हो । यसै गरी राप्ती नदीमा साना दुईपाङ्ग्रे गाडी गुडाउन मिल्ने आधा दर्जन झोलुङ्गे पुल पनि बनेका छन् ।
स्थानीय सरकारले पनि अब राप्ती नदीमा पुल भएपछि उत्पादन सामग्री बिक्री गर्न जान समस्या नहुने भएकाले सोही अनुसारको कार्यक्रम ल्याउन थालेको छ । राजपुर गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोकाले अब पालिकाले कृषि क्षेत्रमा लगानी गर्ने र उत्पादित वस्तुलाई बजारीकरणमा लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा दुध बिक्री गरेर जीविका चलाउने धेरै हुनुहुन्छ, सडकको समस्या छैन, अब व्यावसायिक रूपमा दुध उत्पादन र बिक्री गर्ने गरी पालिकाले लगानी गर्नु पर्छ ।”