काठमाडौँ, जेठ ८ गते । नेकपा एमालेका सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढीरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले खनिरहेका सडकहरू अव्यवस्थित र अवैज्ञानिक तरिकाको भएकाले जोखिम बढिरहेको बताउनुभएको हो ।
सांसद गौतमले आगामी दिनमा प्राकृतिक कारणले आउने जोखिमभन्दा मानवीय अदूरदर्शीताका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चेतना अभावका कारण सानातिना विषयले पनि मानिसहरू मरिरहेको भन्दै त्यस्तो अवस्था आउन नदिन सचेतना कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले विपद् न्यूनीकरणका लागि सञ्चालन गरिने सचेतनाका कार्यक्रमहरूमा आफूहरूको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।