स्मिता अर्जेल
मकवानपुरगढी, जेठ ८ गते । बागमती प्रदेशसभामा चिट्ठा विधेयकलाई पुनःविचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलसहित विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले सो विधेयकलाई संसदमा प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथि सासंद रत्न ढकाल, भरतबहादुर केसी र रमेश महतले छलफलमा भाग लिनुभएको थियो । सो पश्चात् उहाँहरूले उठाउनुभएका विषयमाथि सम्बन्धित मन्त्री लामिछानेले जवाफ दिनुभएको थियो । सो लगत्तै सभामुख भुवनकुमार पाठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामा निर्णयार्थ पेस गर्नुभएको थियो । उहाँले निर्णयार्थ पेस गर्नुभएको उक्त विधेयकलाई सभाले सर्वसम्मत स्वीकृत दिएको हो ।
तत्कालीन समयमा प्रदेशसभा वैशाख १२ गतेको बैठकबाट पारित भएको उक्त विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको थियो । तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेश स्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई जेठ १२ मा पुनःविचार गरियोस् भन्ने सन्देशका साथ फिर्ता गर्नुभएको थियो ।
प्रदेश सभाको अर्काे बैठक आगामी जेठ १४ मा बस्ने गरी स्थगित गरिएको छ । १४ गते बुधबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभएको छ ।