• ८ जेठ २०८२, बिहिबार

पतञ्जली जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय

blog

संसदीय समिति सभापति ऋषिकेश पोखरेल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ ८ गते । संसदीय समितिले पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको छ । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले पतञ्जली प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँहरूमा सोधपुछ थरी प्रतिवेदन बनाएकोमा बैठकले थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

सभापति पोखरेलले भन्नुभयो, ‘‘पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको थियो । मन्त्रालय र विभिन्न ठाउँहरूमा हामीले सोधपुछ गरिकन पठाएका थियौँ । त्यसको अन्तिम फाइल बनाएका थियौँ । त्यसलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ ।’’

बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।

‘‘लामो समयदेखि सात वटा उपसमिति निर्माण गरेर सार्वजनिक लेखा समितिमा आएका उजुरीहरूलाई सबैलाई समान समय आवश्यकता महसुस गरी, प्राथमिकता दिई सम्पन्न गर्नेगरीको तयारी हामीले गरेका थियौँ । त्यसको समय अवधि पुगेन भन्ने आयो । शिघ्र गर्ने र अलिखित हिसाबले एक महिनाभित्र सम्पन्न गर्नेगरी समय थप गरिएको छ ।’’ उहाँले भन्नुभयो ।

सभापति पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र अख्तियारमा थप अनुसन्धानका लागि पठाइसकेको जानकारी दिनुभयो ।