• ८ जेठ २०८२, बिहिबार

दलित छात्रालाई साइकल उपहार

blog

रामचन्द्र माध्यमिक विद्यालयका २२ जना दलित छात्रालाई उपहार दिइएको साइकल । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, जेठ ८ गेत ।
घरदेखि टाढाको विद्यालय जार्नुपर्ने बाध्यताले पढाइनै छोड्नु पर्ने अवस्था रहेको रौतहटको अति विपन्न दलित वर्गका छात्रा साइकल उपहार पाएपछि खुसी भएका छन् ।

गरुडा नगरपालिकाले पालिकाभित्र रहेका कक्षा–८ मा अध्ययनरत अति विपन्न दलित परिवारका छात्राले पालिकाबाट साइकल उपहार पाएपछि माध्यमिक तथा उच्च शिक्षा हासिल गर्न घरदेखि टाढाको विद्यालय वा क्याम्पस पढ्न सहज भएको भन्दै खुसी भएका हुन् ।

पालिका प्रमुख कन्थमणीप्रसाद जयसवालले पालिकामा आधारभूत तह उत्तीर्ण गरेका अति विपन्न दलित परिवारका ६६ जना छात्रालाई दिएको साइकल उपहारले उनीहरुलाइ माथिल्लो कक्षा अध्ययन गर्न हौसला मिलेको बताउनुभयो । उहाँले शिक्षामा समान अवसर सुनिश्चित गर्न र दलित बालिकाको विद्यालय पहुँचमा सहज बनाउन साइकल उपहार कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख जयसवालले एक कार्यक्रमबिच पालिकाको वडा नम्बर ८ मा रहेको रामचन्द्र माध्यमिक विद्यालयका २२ जना दलित छात्रालाई साइकल उपहार दिनु भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताख आलमले भन्नुभयो, “यस अघि पालिकाको वडा नम्बर ७ मा रहेको पिपरिया माध्यमिक विद्यालय, दोस्तिया र वडा नम्बर ९ स्थित श्री माध्यमिक विद्यालय गम्हरियाका दलित छात्रालाई जनही २२/२२ वटा ‘लेडिज साइकल’ वितरण गर्नुभएको थियो । दलित छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्ने तथा घरबाट विद्यालय टाढा भएकालाई अध्ययनार्थ विद्यालय वा क्याम्पससम्म पुग्न सहज हुने उद्देश्यले साइकल उपहार दिइएको हो ।”

साइकल उपहार पाएपछि कक्षा–८ मा अध्ययनरत रामचन्द्र माध्यमिक विद्यालयका सम्पूर्ण छात्रा खुसी हुँदै आउँदा दिनमा टाढाको विद्यालय गई उच्च शिक्षा हासिल गर्न अब सहज भएको बताउनुभयो । छात्रा लिलावती रामले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न टाढाको विद्यालय धाउन नसकी बिचैमा विद्यालय छोड्नु पर्ने अवस्थाबाट मुक्त गराउनु भएकोमा नगर प्रमुख जयसवाललाई विशेष धन्यवाद दिनुभयो । 

यता नगर प्रमुख जयसवालले पनि छात्राहरूलाई साइकल वितरण गर्न पाउँदा निकै खुसी लागेको बताउनु हुँदै गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।