रमेश विश्वकर्मा
गुल्मी, जेठ ८ गते । गुल्मीको मुसिकोट नगरपालिकाले दोस्रो मुसिकोट मेयर रनिङ कपको आयोजना गर्नेभएको छ । मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो मुसिकोट मेयर रनिङ कप अन्तर्गत अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता यही जेठ २५ देखि २८ गतेसम्म दोस्रो मुसिकोट मेयर रनिङ कप हुने मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । अन्तर स्थानीय तह खुला पुरुष भलिबल प्रतियोगितासहित भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको बताइएको छ ।
अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५१ हजार रुपियाँसहित कप मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई एक लाख एक हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । सेमिफाइनलबाट पराजित समूहलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस अवसरमा मुसिकोट स्थायी घर भई राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सागर रसौलीलाई नगदसहित सम्मान गरिने छ ।