• १ साउन २०८१, मङ्गलबार

केराखेतीले ढाक्यो गाउँ, वार्षिक एककरोड आम्दानी [फोटो फिचर]

blog

म्याग्दी, जेठ २८ गते । २० वर्ष अघि बेनी नगरपालिका २ खबरमा मानबहादुर थापाले मात्र केराखेती गर्नुहुन्थ्यो । थापाले नै गाउँमा केराखेतीको सुरुवात गर्नुभएको हो । थापाले सुरु गरेको केरा खेतीले अहिले गाउँ नै ढाकेको छ । खबराका प्रायजसोले थापाको सिको गरेर व्यवसायिक रुपमा केराखेती थालेका छन् । अन्य खेतीभन्दा केराखेतीबाट राम्रो आम्दानी हुने भएपछि खबराका किसानहरुले खेतबारी,कान्ला,खोल्सा र पाखोमा केराखेती गरेका छन् ।  

खबराका करिब चारसय घरधुरीले व्यावसायिक रुपमा हजारी जातको केराको खेती गरेको र वार्षिक रुपमा एककरोड रुपियाँभन्दा बढी गाउँमा भित्रिने गरेको कृषक सुवास कुँबरले बताउनुभयो । 


सुवासले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केराखेती गरेर राम्रो आम्दानी लिनुभएको छ । आठ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा ५ लाख रुपियाँभन्दा बढी आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ । 

परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केराखेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको  कृषक कुँवरले बताउनुभयो । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरो खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन । विरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ । 

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बविता सापकोटाले भन्नुभयो ‘पाँच रोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रुपमा चारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ ।’ 

सापकोटाले विगत १० वर्षदेखि केराखेती गर्दै आउनुभएको छ । छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ ।’ 


उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो ‘केरा लिन बेनीदेखि व्यवसायीहरु घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एकसय २० रुपियाँमा बिक्री हुन्छ ।’

त्यस्तै खबराकै हरि कुँबरले पनि १० रोपनी जमिनमा केराखेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा  छ लाख रुपियाँ जति आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । राम्रो भयो भने केराको एक घरीमा सातसय देखि आठसयसम्म कोसा हुन्छन् उहाँले भन्नुभयो ‘एक घारीको चार हजार दुईसय रुपियाँ सम्म बिक्री गरेको छु ।’ 

पछिल्ला केही वर्ष भने केरामा रोग देखा पर्न थालेपछि किसानहरु चिन्तीत हुनथालेको कुँबरले बताउनुभयो । पसाउने बेलामा केराको पात पहेलो हुने र गुभोमा किरा लागेर बोट नै सुक्ने रोग देखा परेको उहाँले बताउनुभयो । केराको रोगका वारेमा कृषि ज्ञानकेन्द्रमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको उहाँले गुनासो पोख्नुभयो ।

 

Author

ठाकुरप्रसाद आचार्य