• ८ जेठ २०८२, बिहिबार

जनप्रतिनिधिको विवादले विकास ठप्प

blog

ढल्केबर समाचारदाता

ढल्केबर, जेठ ८ गते  । चालु आर्थिक वर्ष समाप्त हुन दुई महिनाभन्दा पनि कम समय बाँकी छ तर धनुषाको छिरेश्वरनाथ नगरपालिकामा विकास निर्माण ठप्प जस्तै छ । नगर प्रमुख सुखदेव यादव र उपप्रमुख रचना माथेमाबिचको विवादले विकास निर्माणका कार्य प्रभावित भएका छन् । 

नगर प्रमुख र उपप्रमुखबिचको विवादका कारण नगरपालिकाको दैनिक प्रशासनिक काम र नीतिगत निर्णय समयमै हुन नसक्दा विकास कार्यव्रmममा अवरोध उत्पन्न भएको हो । दुई जना जनप्रतिनिधिले एक अर्कामाथि विकासको काममा अवरोध खडा गरेको आरोप प्रत्यारोप लगाउँदै आएका छन् । नगर प्रमुख एमालेबाट निर्वाचित हुन् भने उपप्रमुख कांग्रेसबाट निर्वाचित हुन् । कार्यपालिकामा कांग्रेसको स्पष्ट बहुमत छ । 

उप्रमुख माथेमाले नगर प्रमुख यादवको मनोमानी र असंवैधानिक कार्यशैलीका कारण विकास निर्माणका कामले गति लिन नसकेको आरोप लगाउनुभयो । नगर प्रमुखले एकलौटी ढङ्गले र पार्टीगत आधारमा नगरपालिका चलाउन खोजेको सुनाउनुभयो । आफूलाई केबल कागजी भूमिकामा सीमित राखेको बताउँदै उपप्रमुख माथेमाले कुनै पनि काममा समावेश नगरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आफू न्यायिक समितिको संयोजक भए पनि न्यायिक समितिमा कर्मचारी व्यवस्थापन नगरिदिँदा न्याय सम्पादनसमेत प्रभावित भएको छ । पटक पटक कर्मचारी व्यवस्थापन गरिदिनभन्दा पनि सुनेको छैन । जसले गर्दा समितिको काम ठप्प छ ।” यहाँ विधिको शासन तोडिएको उपप्रमुख माथेमाको आरोप छ । नगरपालिकाका योजनासम्बन्धी विवरण समेटिएको रेडबुकसमेत वडाध्यक्ष, सचिव र आफूलाई नदिइएको उहाँले बताउनुभयो । 

छिरेश्वरनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश यादवले पनि नगर प्रमुखको काम शैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभयो । उहाँले स्थानीय तह सञ्चालन ऐन, २०७४ विपरीत नगरप्रमुखले कार्यशैली अख्तियार गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “तीन वर्षको कार्यकाल बित्न लाग्दा पनि जनताको अपेक्षा अनुसार काम गर्न सकिएको छैन । नगर सभाबाट पारित योजना सञ्चालनमा आएका छैनन् ।” 

यता नगर प्रमुख सुखदेव यादवले उपप्रमुख र केही वडाध्यक्षले योजनाबद्ध रूपमा नगरपालिका सञ्चालनमा अवरोध गरिरहेको आरोप लगाउनुभयो । तिनीहरूले नै विकास कार्यमा बाधा पुर्‍याएको दाबी गर्दै उहाँले बहुमतको दम्भमा विकासको काम रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा राम्रो विकास गर्ने सोच र योजना छ तर मसँग बहुमत छैन । उपप्रमुखसहित केही वडाध्यक्षले कुनै काम हुन दिइरहेका छैनन् । उपप्रमुख आफैँ तीन महिनामा एक पटक कार्यालयमा आउनुहुन्छ ।” उहाँको यस्तो उपस्थितिले नियमति बैठक, न्याय सम्पादन, राजस्व सङ्कलन जस्ता महìवपूर्ण काम अगाडि बढ्न नसकेको नगर प्रमुख यादवको आरोप छ । 

न्यायिक समितिमा कर्मचारी पूर्ति रहेको बताउँदै उहाँले न्यायिक समितिका अध्यक्ष उपप्रमुखले तीन वर्षको अवधिमा एउटा पनि  मुद्दाको किनार लगाउन नसकेको जानकारी गराउनुभयो । नदीनाला ठेक्का लगाउन होस् वा बजेट कार्यान्वयन सबैमा असहयोग भइरहेको गुनासो उहाँले गर्नुभयो । उपप्रमुख माथेमाले नगरपालिकाको कार्यालय सहयोगीलाई घरको सरसफाइ, खाना पकाउने जस्ता निजी काममा प्रयोग गरेको र आफूले त्यो बन्द गराएपछि असन्तुष्ट बनेको नगर प्रमुख यादवको भनाइ छ । उहाँले चालु आर्थिक वर्षमा प्रत्येक वडाका लागि एक करोड २५ लाख, कार्यपालिका सदस्यलाई २० लाख, उपप्रमुखलाई दुई करोड र आफूले दुई करोड २० लाख रुपियाँको बजेट सञ्चालन गर्ने गरी विनियोज गरिएको बताउनुभयो । 

नगर प्रमुख यादवले चालु आर्थिक वर्षको बजेटबाट पालिकाको १० वटा वडामध्ये दुई वटामा मात्रै भौतिक पूर्वाधार निर्माणका काम भइरहेको उल्लेख गर्दै अन्य वडाबाट सम्झौता गर्न नआएको जानकारी दिनुभयो । पार्टीगत पूर्वाग्रहका कारण आफूले चाहे जस्तो काम गर्न नपाएको उहाँले गुनासो गर्नुभयो । 

उहाँले पार्टीगत राजनीतिक ध्रुवीकरणका कारण विभिन्न बाधा अवरोध भइरहेको उल्लेख गर्दै अवरोधका बाबजुद पनि थुप्रै विकास निर्माणका काम भइरहेको बताउनुभयो । उहाँहरूको अवरोधबिच पनि प्रदेश र सङ्घीय सरकार सहयोग करिब ८५ करोड रुपियाँका योजना कार्यान्वयनमा रहेको उहाँले दाबी गर्नुभयो ।