बेनी समाचारदाता
म्याग्दी (बेनी), जेठ ७ गते । बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा सञ्चालित दुई विद्यालय बन्द भएका छन् । बेनी नगरपालिका–५ स्थित गाजने जगन्नाथ आधारभूत र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरक्षेत्रका ग्रामीण भेगका सञ्चालित अन्य विद्यालय पनि न्यून विद्यार्थीका कारण सङ्कटमा परेका छन् ।
बेनी नगरपालिका शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले चालु शैक्षिक सत्रमा ती विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि बन्द गर्नु परेको बताउनुभयो । विद्यालय बन्द भएपछि दुई वटै विद्यालयमा कार्यरत शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको छ ।
शिक्षा शाखाका उपसचिव भण्डारीले भन्नुभयो, “नगरपालिकाको बजार क्षेत्रबाहेक अन्य वडामा सञ्चालित विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै भएको कुरा पनि आए । नगरको ग्रामीण भेगमा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून रहेको छ । शिक्षा समितिले अनुगमन गरेर कक्षा घटुवा वा विद्यालय समायोजन गर्ने योजना बनाएका छौँ ।’’ बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो । यसपालि बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द हुन पुगेको हो ।
गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दीपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख समस्याका रूपमा रहेको शिक्षा शाखा उपसचिव भण्डारीले बताउनुभयो ।
कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको कक्षा घटुवा गरिएको थियो ।