• ८ जेठ २०८२, बिहिबार

गायनमा अब्बल अनुष्का

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ८ गते  । गायिका अनुष्का पाठकले साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको करिब साढे एक दशकमै आफूलाई अब्बल साबित गर्नुभएको छ  । विसं २०६८ मा कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयबाट औपचारिक रूपमा सङ्गीतको शिक्षा लिएपछि उहाँले २०६९ मा पहिलो एल्बम ‘मायाको संसार’ सार्वजनिक गर्नुभयो । यसै एल्बममार्फत साङ्गीतिक उडान सुरु गरेपछि उहाँको ‘रहरमा हुन्छ माया’ बोलको गीतले राम्रो चर्चा कमाएको थियो । 

उहाँले सङ्गीतलाई महासागरसँग तुलना गर्दै भन्नुभयो, “जहाँ हामी जति गहिरिँदै जान्छौँ, त्यही गहिराइ अनुसार सफलता र ज्ञान प्राप्त हुँदै जान्छ ।” उहाँद्वारा स्वरबद्ध गीतहरू ‘रहरमा हुन्छ माया’, ‘छुटेपछि त छुट्यो’, ‘मनको दाग’, ‘हाम्रो सम्बन्ध लटरपटर’, ‘भो मलाई चाहिन्न’, ‘मायाको संसार’, ‘घुरघुर’, ‘फुलेको बैँस’ र ‘शिरफुले माया’ ले राम्रो श्रोता र दर्शक कमाएका छन् । 

छिट्टै नयाँ गीत ल्याउने तयारीमा रहेकी उहाँले अबको गीत फरक रूपमा गर्ने बताउनुभयो । “गायनसँगै गीत रचना पनि गरेकी छु,” उहाँले भन्नुभयो । मैले लेखेका धेरै गीत रेकर्ड भइसकेका छन् । आफ्ना गीतमा कहिलेकाहीँ अभिनय पनि गर्ने गरेकी छु ।” गायिका पाठकको गायनशैलीमा आधुनिक र लोक सङ्गीतको मिश्रण पाइन्छ । उहाँका गीतहरूमा भावनात्मक अभिव्यक्ति र साङ्गीतिक विविधता झल्कन्छ । गायिका पाठकका सफल भएका धेरै गीत गायक युवराज चौलागार्इंसँग गाइएका छन् । उहाँले गायिका चौलागाईंसँग गाउँदा आफूलाई सहज हुने पनि बताउनुभयो ।