म्याग्दी, जेठ ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेका भिरमा मह सिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक मह सिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मङ्गलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।
डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी हुनुभएको थियो ।
अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । मह सिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् ।
स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए । मह सिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ ।
केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको सिकारी पाइजाले बताउनुभयो । छहरीको भिरमा ११ वटा गोला थियो । बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा मह सिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।
खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिर मौरीको बासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिर मौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइसराई गर्छन् ।
मह सिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताउनुभयो ।
“मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलो पटक देख्दा शरीरनै जिरिङ्ग भयो,” उहाँले भन्नुभयो “भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।”
भिरमा भिर मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्न उपयुक्त समय हो ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइ दिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गरिन्छ ।
चौध वर्षदेखि मह सिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताउनुभयो । “आठ दस वर्षअघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,” उहाँले भन्नुभयो “अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।”
स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्ति वर्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताउनुभयो । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिर मह कोशेलीका रूपमा लैजाने गर्छन् ।
स्वाँतका सबै भिरबाट निकालिएको मह सङ्कलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोवास गर्नेहरूलाई तीन वर्गमा बिभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।
स्वाँतको भिर महको मूल्य प्रतिलिटर तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौ, चितवन गएकाहरू मह सिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आउनुभएकी स्वाँतकी चन्द्र पुनले मह सिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताउनुभयो । स्वाँतमा बस्ती बसेदेखिनै मह सिकार गर्ने चलन रहेको छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह सिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउदै पर्यटनसँग जोड्ने योजना रहेको बताउनुभयो । महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रसोधन र भण्डारण गरि बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडाध्यक्ष तिलीजाले बताउनुभयो । रासस