• ९ जेठ २०८२, शुक्रबार

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

blog

टोकियो, जेठ ७ गते । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् ।

टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भन्नुभएको थियो, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।”

चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले जापानमा ठुलो असर पारेको छ । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।

कारकहरूमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठुलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि समावेश छ ।

सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ ।

इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गर्नुभएको थियो ।

खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गर्नुभयो ।

“अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो । म उहाँबाट समाधानको अपेक्षा गर्छु”, इसिबाले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो ।

विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएको बताइएको छ, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ ।

सोमबार इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोज्नुभएको थियो ।

“उनले मलाई भनिन् कि जब हाम्रो दान गरिएको चामलको भण्डार समाप्त हुन्छ उनी चामल किन्न जान्छिन्”, इटोले भन्नुभयो, “यस्तो होइन कि हाम्रो परिवार पूर्णरूपमा हामीलाई उपहार दिइएको चामलमा जीवन बिताइरहेको छ ।”

धेरै कठोर शब्दहरू

तर बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको भन्दै आत्मसमर्पण गर्नुभयो । पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उहाँको राजीनामा स्वीकृत गरेको’ बताउनुभयो ।

“म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो”, इसिबाले भन्नुभयो, “चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन तर संरचनात्मक हो भन्ने मलाई लाग्छ । हामीले यसबारे पूर्ण छलफल गर्नुपर्छ र अवश्य पनि ती (चामलको मूल्य) घट्नुपर्छ ।”

इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडिया–प्रेमी पूर्ववातावरण मन्त्री एवं लोकप्रिय पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिनुभयो ।

चवालिस वर्षीया कोइजुमीले ‘चामलको बढ्दो मूल्यबिच बलियो नेतृत्व’ प्रदर्शन गर्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । टोकियोको एउटा रेस्टुरेन्टमा काम गर्ने ६८ वर्षीया मतदाता क्योको सातोले इटोको टिप्पणीबाट ‘स्तब्ध र निराश’ भएको बताउनुभयो ।

“मेरा लागि घरमा आइतबारको खानाका लागि मसँग चामलको एउटा मात्र भाग छ । मलाई चामल किन्नु पर्छ तर चामलको मूल्य पहिलेभन्दा दोब्बर छ”, उहाँले भन्नुभयो, “म हप्ताको दिनमा रेस्टुरेन्टमा कामदारहरूका लागि खाना खाएर जीवित छु । म पेन्सनभोगी हुँ तर मेरो पेन्सनले मात्र पुग्दैन, त्यसैले मलाई काम गर्नु पर्छ ।” रासस/एएफपी