सर्लाही समाचारदाता
सर्लाही, जेठ ७ गते । पानी पर्न सुरु भएसँगै सर्लाहीको चुरेवर्ती विकट क्षेत्रमा खोलाको बाटोबाट आउजाउ गर्न समस्या पर्न थालेको छ ।
बाढी आएर खोलाको बाटो बिगार्न थालेपछि चुरेवर्ती क्षेत्रमा आवतजावतका लागि समस्या पर्न थालेको हो । चुरेवर्ती क्षेत्रमा पर्ने लालबन्दी नगरपालिकाको वडा नम्बर १४ सडक सञ्जालमा जोडिएको छैन ।
लालबन्दीसहित ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका चुरेवर्ती अन्य वडाका केही ठाउँमा सडक पुुगेको छैन । खोलाको बगर र चुरेपाखाको गोरेटो बाटोबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ ।
लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष सुवाईसिंह ब्लोनले यसै गरी पानी परिरहे खोलाको बाटो बन्द हुने अवस्था रहेको जानकारी दिनुुभयो । लालबन्दी बजारबाट लालबन्दी नगरपालिका–१३, पत्थरकोटसम्म सडक पुुगेको भए पनि त्यहाँबाट उत्तर नारायणखोलातर्फ जान लखन्देही खोलाको बगर भएर जानुपर्ने बाध्यता रहेको छ ।
नारायणखोलासहित चुरेवर्ती पिपलदमार, शिर कालिन्जोरलगायतका क्षेत्रमा अहिले खोलाको बगरबाट बोलेरो, बसलगायतका साधनले लालबन्दी बजारसम्म यात्रु ल्याउने, लैजाने गरिरहेका छन् । खोलाबाटै भए पनि सञ्चालन भइरहेका सवारीसाधनमा बजारसम्म आएर किनमेल र औषधी उपचार गर्न पाएका चुुरेवर्ती क्षेत्रका स्थानीय लगातार पानी पर्न थालेसँगै खोलाको बाटो बन्द हुने चिन्तामा पर्न थालेका छन् ।
वर्षायाम सुरु भएसँगै चुरेपाखामा स्थानीय बासिन्दा पैदल हिँड्ने बाटोसमेत खराब बनेको छ । बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले लगातार पानी पर्दा चुरेडाँडाका बाटाघाटामा पानी परेर बाटो बगाउने समस्या सुरु भएको बताउनुुभयो ।
चुरेका कच्ची सडकमा मोटरसाइकल र ट्याक्टर मुस्किलले चल्ने गरे पनि पानी पर्न सुरु भएपछि बाटो खराब भएर समस्या परेको जानकारी दिनुुभयो । बाटो खराब हुँदा चुरेडाँडाका विभिन्न बस्तीबाट चुरेफेदीका विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी सास्तीमा परेका छन् ।