बागलुङ समाचारदाता
बागलुङ, जेठ ७ गते । मध्यपहाडी लोकमार्गको गलकोटखण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ ।
गलकोट–हरिचौर–हिल–तारादेखि म्याग्दीको रुम जोड्ने सडकको पहिलो खण्डमा झन्डै ११ किलोमिटर सडक स्तरोन्नतिसंँगै धमाधम कालोपत्रे गर्ने काम भइरहेको योजना कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । सडकको संशोधित लागत अनुमान ४५ करोड ४७ लाख ५९ हजार नौ सय २६ रुपियाँ रहे पनि एमएस एपेक्स खड्का कृष्ण जेभीले २८ करोड १५ लाख सात हजार ७२ रुपियाँमा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रेको काम गरिरहेको छ ।
२०७८ कात्तिक २६ गतेभित्र योजना सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नसकिएपछि २०८१ चैत २९ गते सम्पन्न गर्ने लक्ष्यसहित पहिलो पटक म्याद थपेको थियो । सडकको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति रहेको छ । आगामी असार मसान्तभित्र काम सक्ने लक्ष्यसहित पर्याप्त मजदुर र मेसिन प्रयोग गरिरहेको निर्माण कम्पनीले ७२ प्रतिशत भुक्तानी लगिसकेको पूर्वाधार विकासले जनाएको छ ।
उक्त सडकखण्डको छ किलोमिटरमा कालोपत्रे गरिएको छ भने पाँच सय मिटर सडकमा ढलान गरिएको इन्जिनियर पुनले बताउनुभयो । बाँकी रहेको करिब साढे तीन किलोमिटर खण्डमा सडक विस्तार, पर्खाल, नाली निर्माण गरेर सबबेस बिछ्याउने काम सकेर कालोपत्रे बिछ्याउन मात्रै बाँकी रहेकाले तोकिएकै समयमा काम सम्पन्न हुनेमा इन्जिनियर पुनले विश्वास व्यक्त गर्नुभयो । गलकोटको हरिचौरदेखि ताराखोलाको हिलहुँदै साँघुबोट जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयलाई बाह्रैमास यात्रामा सहज हुनुका साथै ताराखोलाको कृषि उत्पादनलाई बजारसम्म लैजान सहज हुने स्थानीय दिवस खत्रीले बताउनुभयो ।