गोकर्ण पौडेल
तुलसीपुर, जेठ ६ गते । तुलसीपुर र घोराही उपमहानगरपालिका जोड्ने ग्रामीण सडकको शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले संयुक्तरूपमा सडकको शिलान्यास गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर,१८,१६,१५ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ९ समेत उक्त ग्रामीण सडकले जोड्ने छ ।
सडकको शिलान्यास गर्दै नेकपा एमालेमा महासचिव एवम लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई ठुला दल मिल्नुपरेको र त्यो नतिजा विस्तारै देखिन थालेको बताउनुभयो ।
उहाँले दाङको विकासमा महत्वपूर्ण ठानिएको घोराही तुलसीपुर फोरलेन सडकखण्ड आर्थिक वर्ष २०८१।८२भित्रै काम सुरु हुने र टरिगाउँ धावनमार्ग विस्तारका लागि आर्थिक वर्ष २०८२/८३को बजेटमा सम्बोधन हुने बताउनुभयो । उहाँले ग्रामीण सडकको स्तरीकरणसँगै आर्थिक क्रियाकलापसँग जोडिने समेत बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालका दुई ठुला दल एक ठाउँमा आउँदा दाङमा विकासले फड्को मार्दै गएको बताउनुभयो । उहाँले प्रदेशलाई आर्थिकरूपले सक्षम र सबल बनाइ जनतामा देखिएको नैराश्यता हटाइने बताउनुभयो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले ग्रामीण जनताको जीवनस्तर उकास्न र आर्थिकस्तर सबल र सक्षम बनाउनका लागि ग्रामीण सडकको कालोपत्रे सुरु गर्न थालिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले ग्रामीण सडक निर्माण भएसँगै घोराही खैरा हुँदै कोठहरी, कन्जवार हुँदै बिजौरी जोडिदा चक्रपथ सडककारुपमा विकास हुने बताउनुभयो ।
बिजौरी, बासडबरा, जमुनी, लक्ष्मीपुर, दक्षिण कुरहरिया, कन्जवार कोठरीसम्म जोड्ने सडकको लम्बाइ १५.५८ किलोमिटर रहेको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव भिर्माजुन पाण्डेका अनुसार सम्झौताबमोजिम २०८१ चैत ११ गते काम सुरु भई २०८३ चैत ११ गते योजना सम्पन्न हुनेछ ।
अस्फास्ट कालोपत्रे सडक निर्माणका लागि ४४ करोड ८ लाख ७७ हजार सात सय १५ रुपियामा सम्पन्न हुने गरी सम्झौता गरिएको छ ।